प्रतिवेदनमाथि उठेका विषय महत्त्वपूर्ण र सान्दर्भिक छन्, अझै परिस्कृत गर्न प्रतिवद्ध छौँ : पाटन सी
धनगढी – नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालका संयोजक पार्टन सीले बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्न तथा सुझाबमाथि आफ्नो धारणा राख्ने कार्यक्रम सकिएको छ। सम्मेलनमा प्रस्तुत प्रतिवेदनमाथि उठेका विषयहरु निकै महत्वपूर्ण र सान्दर्भिक भएको साथै त्यसलाई थप छलफल गरि छुटेका विषयहरुलाई समेटेर पारित गर्ने प्रतिवद्द्ता जनाएका छन् ।
नेता पाटनले नेपाल अहिले भूराजनीतिक चपेटामा परेको र साम्राज्यवाद विभिन्न बहानामा नेपाल प्रवेश गरिसकेको अबस्थामा त्यसलाई प्रतिरोध गर्न, देशभित्र विद्यमान, वित्तिय आतंक, मिटरब्याजीहरुको ज्यादती, महङ्गी, कालोबजारी, बिकासका नाममा आएको बिसालु एमसीसी लगायतका विषयहरु, जनयुद्ध, जनआन्दोलनबाट स्थापित उपलब्धी गुम्ने खतराको बिच समग्र बस्तुस्थितिको अध्ययन गरि तयार पारिएको प्रतिवेदन समयको माग भएको बताए। उनले भने, ‘यो समयको माग हो पार्टीकै सहायक संगठन भएको नाताले यत्तिको प्रतिवेदन जरुरी थियो आयो । तर यो यत्तिमै पूर्ण भयो भन्ने होइन । तपाईहरुको महत्वपूर्ण सुझावहरुले पनि प्रतिवेदनमा समेट्दै यसलाई पूर्ण गरिन्छ।’
निवर्तमान अध्यक्ष पार्टन सीको विषयमाथिको धारणा सकिएसँगै मङ्गलबार बिहान ८ बजेदेखि पुनः सुचारु गर्नेगरी आजका लागि बन्दसत्र स्थगित गरिएको संगठनले जनाएको छ। आयोजकका अनुसार भोली बिहान नेकपाका महासचिव विप्लव सीले प्रशिक्षणत्मक मन्तव्य राख्ने कार्यक्रम रहेको छ। जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा देशैभरबाट ३०० भन्दाबढी युवाहरुको उत्साहजनक सहभागिता रहेको छ।