माधव नेपालले फेरि निहुँ खोजेपछि गठबन्धनमा रडाको
काठमाडौं – राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको विषयलाई लिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेरि निहुँ खोजेका छन् । उपाध्यक्ष पद नेकपा एकीकृत समाजवादी पार्टीले पाउनुपर्ने अडान राख्दै अध्यक्ष नेपालले निहुँ खोजेका हुन् ।
सत्ता गठबन्धन दलले एमालेको उम्मेदवारलाई सहयोग गर्ने सहमति गरेका थिए । तर एकीकृत समाजवादी उपाध्यक्ष पद आफूले पाउने पर्ने अडान छोडेको छैन । बुधबार हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।
संविधानले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला र फरक–फरक दलको हुनुपर्ने व्यवस्था व्यवस्था गरेको छ । जसअनुसार राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रबाट पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्षमा अरु दलबाट महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछन् ।
राष्ट्रियसभामा हाल ५८ सदस्य छन् । जसमा नेकपा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक/एक तथा दुई जना मनोनीत सदस्य रहेका छन् ।