आजदेखि विक्रम् सम्मत्को २०८१ साल सुरु, यसरी स्थापना भएको थियो विक्रम् सम्मत्
काठमाडौं – आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् । हिन्दु पञ्चाङ्गमा आधारित पात्रो अनुसार वैशाख १ गतेदेखि नयाँ वर्ष शुरु हुन्छ ।
सूर्यको गतिको आधारमा ज्योतिष शास्त्र (खगोल विज्ञान) ले यो पात्रो निर्धारण गर्ने भएकोले यसलाई ‘सौर्यपात्रो’ पनि भनिन्छ । जुन प्राचीन हिन्दू धार्मिक परम्परा र वैदिक समयाङकनमा आधारित छ । नेपालमा काभ्रे जिल्ला नाला क्षेत्रमा ‘उत्तरापुर राज्य’ थियो। जहाँ राजा विक्रमादित्यले राज्य गर्थे । आज पनि सो क्षेत्रमा जात्रा लाग्छ । त्यसैगरी काठमाडौं, साँखुमा रहेको बज्रयोगिनी मन्दिर परिसरमा बज्राचार्य वंशका पुजारीहरुले आजसम्म विक्रमादित्य राजाको टाउकाको पूजा गर्छन् ।
यी दुई सांस्कृतिक परम्पराले विक्रमादित्य नामका राजा नेपालमन्डलमा शासन गर्थे भन्ने देखिन्छ । उनी राज्य विस्तार गर्दै कासीसम्म पुगेको मानिन्छ । कासीमा रहेको विश्वनाथ मन्दिर यिनले बनाएको दाबी ‘स्कन्दपुराण, हिमवत्खण्ड’मा गरिएको छ । योगी नरहरीनाथका अनुसार विक्रमादित्य राजा लिच्छवि वंशका राजा थिए । लिच्छवी वंशले दरबारमा मैथिली भाषा प्रयोग गर्थे । मिथिला सभ्यता जनकपुरदेखि गंगा नदीसम्म फैलिएको थियो ।
विक्रम सम्वत्को सन्दर्भमा अर्को पनि धारणा छ । २ हजार २ सय वर्ष अघि गन्धर्व सेनका छोरा तथा चर्चित कवि भतृहरीका भाई भाई विक्रमादित्य थिए जो उज्जैनका राजा थिए। गोरखपुरमा रहेको पुरानो छापाखाना (गीताप्रेस) गीताप्रेसद्वारा प्रकाशित ‘भविष्यपुराण’ पृष्ठ २४५ मा सो सन्दर्भ उल्लेख छ । त्यसैगरी ‘ज्योतिर्विदाभरण’ गन्थ अनुसार ई.पू. ५७ मा राजा विक्रमादित्यले विक्रम सम्वत प्रारम्भ गरेको उल्लेख छ । विक्रम सम्वत भारतको विहार र उत्तर प्रदेशमा आजसम्म प्रयोग गरिन्छ । भारत सरकारले अंग्रेजी पात्रो चलाएको कारण धार्मिक कार्यमा सीमित हुँदै गएको छ। पुरानो मगध राज्य र मगडी भाषीमा अझ बढी लोकप्रीय देखिन्छ ।
नेपालमा विक्रम सम्वतको प्रारम्भ श्री ३ महाराज चन्द्रशमशेरले चलाएका हुन् । यद्यपि रामशाहकै पालामा प्रचलनमा थियो भन्ने मानिन्छ। पृथ्वीनारायण शाहको पालाका शिलालेखहरूमा विक्रम सम्वत् नै उल्लेख पाइन्छ । २८२३ मा शाके सम्वत् छुटाइएको र १९५८ बाट विक्रम सम्वत् चलाइएको भन्ने कतिपयको दाबी भएपनि त्यो पुष्टि हुँदैन । शक सम्वत र नेपाल सम्वत नेपालका मौलिक थिए भन्ने तर्क भने बलियो छ ।
राणा शासन भन्दा धेरै वर्ष अघिदेखि विक्रम सम्वत् चलेको प्रमाणिक तथ्यहरु पाइन्छ । चन्द्र शमशेरले ज्योतिषहरूको परामर्श अनुसार मेष संक्रान्तिलाई वैशाख १ गते मानेर दिन र महिनासहित नयाँ वर्षको पात्रो प्रचलनमा ल्याएका हुन् । पात्रोलाई संस्कृत साहित्यमा काल–इन्द्र (स्वर्गका राजा इन्दुको काल वा समय) भनिन्छ । विक्रम सम्वत् शार्क सम्वत भन्दा १३५ वर्ष, नेपाल सम्वत भन्दा ९३६ वर्ष र अंग्रेजी सम्वत भन्दा ५७ वर्ष जेठो छ । विक्रम सम्वत २०८१ को अवसरमा देश(विदेशमा रहनुभएका सबै दाजुभाई, दिदीबहिनीमा हार्दिक शुभकामना !