देउवा भेटेसंगै गठबन्धन बिरुद्ध माधव नेपालको प्लान नै प्लान, ओली प्रचण्डका लागि प्लान बी झनै खतरा

बिहिबार, ६ बैशाख २०८१

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दावी गर्न दिएको दुई दिनको समय आज बिहीवार साँझ सकिँदैछ । सत्ता समीकरणको दल नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन नगर्ने बताएपछि अन्योलता अझै जारी रहेको छ । एमालेले अहिलेसम्म स्पष्ट निर्णय नगरेको बताइएको छ ।

यता एमालेले सोडारीलाई समर्थन नगर्ने भनेपछि एकीकृत समाजवादीले भने प्लान बी तयार गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर सुदूरपश्चिममा सहयोग मागेको बताइएको छ ।

नेपालको प्रस्तावमा देउवा सकारात्मक भएको र आवश्यक परेमा सहयोग गर्ने र बदलामा अन्य प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने शर्त राखेका छन् । देउवाको प्रस्तावमा नेपाल सकारात्मक रहेको बुझिएको छ ।

देउवासँगको छलफलपछि सुदूरपश्चिममा एकीकृत समाजवादीले प्लान बी तयार गरेको छ । अर्कोतर्फ माओवादीले भने केन्द्रको समीकरणलाई बचाउन एकीकृत समाजवादीलाई समर्थन गर्न सक्ने बताइएको छ ।

प्रदेश प्रमुखले सरकार दावी गर्न दिएको समय आज साँझ ५ बजे सकिने भएकाले एकीकृत समाजवादीले कसरी बहुमत पुर्याएर दावी गर्छ भन्ने स्पष्ट भएको छैन ।