सुदूरपश्चिम पछि यी ३ प्रदेशमा पनि आफैँ मुख्यमन्त्री खाने दाउमा माधव नेपाल

आइतबार, ९ बैशाख २०८१

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम पछि बागमती, मधेससहितका प्रदेशमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बानाउने संकेत गरेका छन्।

कोशी प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनमा शनिबार बोल्दै अध्यक्ष नेपालले सुदूरपश्चिम पछि बागमती, मधेससहितका प्रदेशमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने संकेत गरेका हुन्। अध्यक्ष नेपालले सुदूरपश्चिममा चार सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको भन्दै बागमती, मधेससहितका प्रदेशमा एकीकृत समाजवादीको सहभागिताबिना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने बताए।

कुनै पनि दलले एकीकृत समाजवादीलाई सानो दल वा कमजोर आकलन नगर्न चेतावनी दिँदै त्यस्तो भुल कसैले गरेमा सह्य नहुने प्रष्ट पारे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीले देश र जनताको हितलाई सर्वोपरि राखेको बताए। उनले अहिलेको राजनीतिमा उथुलपुथल पार्ने क्षमता एकीकृत समाजवादी पार्टीसँग भएको उल्लेख गर्दै आफ्नो पार्टी कम्युनिष्ट आदर्श तथा मूल्य–मान्यताअनुसार अगाडि बढेको बताए। ‘हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ, हामी स्वाभिमानी छौं,’ उनले भने।

उनले लोकतान्त्रिक आचरण बोकेका सबै दलसँग समन्वय र सहकार्यको खाँचो औंल्याए व्यक्तिवाद हाबी भएका कम्युनिष्ट पार्टीसँग कार्यगत एकता नहुने अध्यक्ष नेपालको भनाइ थियो।