यस्तो माध्यामबाट फैलिएको रहेछ कोभिड संक्रमण बल्ल भयो प्रमाणित

आइतबार, ९ बैशाख २०८१

काठमाडौं – कोभिड–१९ एक व्यक्तिबाट अर्को व्यक्तिबाट सर्ने माध्यमको विषयमा विभिन्न विज्ञहरूले विभिन्न दाबी गर्दै आए पनि अन्ततः कोभिड हावाबाट फैलिएको प्रमाणित भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र विश्वभरका पाँच सय विज्ञहरूले कोभिड हावाबाट फैलिएको स्वीकार गरेका छन्।

डब्लूएचओको जेनेभास्थित मुख्यालयले यससम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजातहरूसहितको दस्ताबेज बिहीबार सार्वजनिक गरेको थियो। दस्तावेजमा भनिएको छ– ‘कोभिड संक्रमणलाई हावाबाट सर्ने संक्रामक रोगको श्रेणीमा राख्न सकिन्छ। यसको भाइरस हावामा यात्रा गर्दै अरू मानिसहरूसम्म पुग्छ र तिनीहरूलाई संक्रमित गर्दछ।’

डब्लूएचओकी पूर्व प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले यसबारे धेरै पहिले नै मानिसहरूलाई कडाइका साथ जानकारी गराउन सकेको भए यसको संक्रमणबाट पुगेको मानवीय क्षतिलाई कम गर्न सकिने बताइन् ।

उनले डब्लूएचओका प्रमुख वैज्ञानिक बनेका जेरेमी फैरारले महामारीको सुरुआतमा प्रमाणको अभावका कारण कोभिडको संक्रमण हावाबाट सर्ने ठोकुवा गर्न नसकिएको बताएकी हुन् ।