रेशम चौधरी पार्टी अध्यक्ष बन्न यस कारण अयोग्य, रञ्जिताले सर्वोच्चलाई पठाइन् यस्तो कडा जवाफ
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले आफ्नो पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिएकी छन्।
निर्वाचन आयोगले फागुन २४ गते नाउपा अध्यक्ष रेशम चौधरी रहेको विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो। त्यस्तै चौधरी आयोजक समिति अध्यक्ष भएर गरेको महाधिवेशन पनि स्वीकार गरेको थिएन।
उक्त निर्णय विरूद्ध चौधरीले सर्वोच्च अदालतमा रिट दिएका थिए। उनले आफूलाई अध्यक्ष बनाउन माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले माग अनुसारको आदेश किन जारी नगर्ने भन्ने कुराको लिखित जवाफ बुझाउन विपक्षीहरूलाई आदेश दिएको थियो।
सोही आदेश अनुसार सर्वोच्चलाई लिखित जवाफ दिँदै श्रेष्ठले टीकापुर प्रकरणमा व्यक्ति हत्याको अभियोगमा दोषी ठहर भएकाले न उनको माग बदरभागी रहेको जिकिर गरेकी हुन्। कानुनले नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी ठहर भएर सजाय पाएका व्यक्तिलाई राजनीतिक दलको अध्यक्ष हुन रोकेको श्रेष्ठको भनाइ छ।
रेशमले भने आफूलाई सजाय सुनाउँदा अदालतले नैतिक पतन देखिनेु भन्ने कुरा नै उल्लेख नगरेकाले पार्टी अध्यक्ष बन्नबाट आयोगले रोक्न नपाउने जिकिर गरेका छन्। निर्वाचन आयोगले आफै नैतिक पतन मानी निर्णय गर्न नमिल्ने रेशमको तर्क थियो। श्रेष्ठले भने रेशमको कार्य नैतिकवान र सभ्य थियो भन्न नमिल्ले जवाफ दिएकी छन्।
अदालतले फौजदारी मुद्दा फैसला गर्दा नै विपक्षीले सभ्य समाजको अपेक्षा र मानवीय चेतनाविरुद्ध अत्यन्त अमानवीय क्रूर र निर्मम ढंगले ज्यान मारेको भन्ने उल्लेख गरेको छ। ज्यान मार्ने सबै कार्य र जन्म कैद हुने सबै कार्य नैतिक पतन देखिने फौजदारी अपराध नहुन सक्छ तर अदालतले फैसला गर्दा उल्लेख गरेको व्यहोराबाट निजको कार्य नैतिकवान वा सभ्य थियो भन्न मिल्दैन, उनको जवाफमा उल्लेख छ।