कोशी प्रदेश सभा सचिवालयले काँग्रेलाई दियो नमिठो झड्का, पठायो यस्तो पत्र
काठमाडौँ – कोशी प्रदेश सभा सचिवालयले मुख्यमन्त्री केदार कार्की अल्पमत भएको जानकारीसहितको पत्र प्रदेश प्रमुख पर्शुराम खापुङलाई पठाएको पाइएको छ । उता, मुख्यमन्त्री कार्कीको सचिवालयले भने सबै मन्त्रालय तथा मातहतका निकायलाई मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले दिएको राय सुझाव सम्प्रेषण गरेको छ ।
प्रदेश सभाको गत वैशाख ६ र ७ गते बसेको विशेष अधिवेशनले मुख्यमन्त्री कार्कीलाई प्रदेश सभामा विश्वासको मत लिन निर्देशन दिने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव पारित भएको जानकारी प्रदेश सभा सचिवालयले प्रदेश प्रमुखको कार्यालयमा पठाएको हो ।
गत चैत २६ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिँदै प्रदेश सभाको विशेष अधिवेशन माग गरेका थिए । संविधानको धारा १८२ को उपधारा २ अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ ।
सोही व्यवस्था कार्यान्वयनमा लैजानका लागि दुई दलले वैशाख ६ गते सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनमा सङ्कल्प प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको थियो ।
सङ्कल्प प्रस्तावको जानकारी प्रदेश प्रमुख पर्शुराम खापुङलाई र मुख्यमन्त्री कार्यालयमा पनि पुगेपछि मुख्यमन्त्रीको निजी सचिवालयले भने मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाको राय उल्लेख गर्दै सङ्कल्प प्रस्ताव कार्यान्वन गर्नु नपर्ने पत्र प्रदेश सभासहित सरकारका सबै निकायमा पठाएको छ ।