देउवाले माधव नेपालको यस्तो प्रस्ताव स्वीकार गरे गठबन्धनमा उथलपुथल ल्याउन समाजवादी तयार
काठमाडौँ – पछिल्लो एक सातायता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै बेला सत्ता गठबन्धन ढल्न सक्ने संकेत गरिरहेका छन्।
वैशाख १० गते नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अघि उनले आफूहरुलाई धेरै पेल्न खोजे उथलपुथल ल्याउने बताए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नपाउने देखेपछि सो पार्टी एमाले र माओवादीसँग बिच्किएको थियो। गठबन्धन छाड्ने धम्की दिएपछि सो पार्टीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बन्न अध्यक्ष केपी शर्मा ओलीले हरियो झण्डा देखाए।
तैपनि, गठबन्धनप्रति अध्यक्ष नेपालको रोष साम्य भएको छैन। उनी किन गठबन्धनको भविष्यप्रति शंका गरिरहेका छन्। एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा एमाले अध्यक्ष केपी शर्मा ओलीले हैकमवादी चरित्र देखाएको आरोप लगाउँछन्।
‘गठबन्धन तरबारको धारमा टेकेजस्तो भयो,’ उनले भने, ‘गठबन्धनका मुख्य पात्र एमाले अध्यक्षको बढी हैकमवादी क्रियाकलाप सहने खालको छैन। प्रचण्डको चिप्लोपनले पनि न्याय गरेन। दुवैले चरम अवसरवादी प्रवृत्ति देखाउँदा गठबन्धनमा समस्या छ।’
त्यसो त एमाले–माओवादीबीच गठबन्धन बनाउने सहमति गर्दा ओली र प्रचण्डले एकीकृत समाजवादीलाई थाहै दिएका थिएनन्। त्यही भएर पनि एकीकृत समाजवादी अध्यक्ष नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तरजसो छलफलमा छन्। नेपाल आफू प्रधानमन्त्री बन्ने पालो आउन लाग्दा कांग्रेससँगको गठबन्धन टुटेकोमा दुखी छन्।
अध्यक्ष नेपाल र कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार फागुन २६ देखि अहिलेसम्म देउवा–नेपालबीच कम्तीमा चारपटक प्रत्यक्ष भेटवार्ता भइसकेको छ।
कांग्रेस–माओवादी गठबन्धन बनाउँदा मात्र होइन, त्यसलाई टिकाउन माधव नेपालले मुख्य भूमिका खेलेका कांग्रेसका एक नेता बताउँछन्। तसर्थ अहिले पनि कांग्रेसले उनीसँग निरन्तर सम्पर्क राखेको उनको भनाइ छ।
‘माधव नेपालले प्रचण्ड र हाम्रो सभापतिलाई मिलाइरहनुभएको थियो,’ ती नेताले भने, ‘अहिले प्रचण्डले धोका दिएर एमालेसँग मिल्न गएपछि स्वाभाविक रुपमा हामी नयाँ कोर्स निर्माणमा लागेका छौँ। एमाले–माओवादी गठबन्धनमा जुनसुकै बेला समस्या आउँछ भन्ने कुरा हामीले देखेका छौँ। त्यसैले उहाँसँग हाम्रो निरन्तर सम्पर्क छ।’
यद्यपि, एकीकृत समाजवादीले एमाले–माओवादी गठबन्धन फलिफाप नहुने निष्कर्ष निकालिसकेको छ। त्यही भएर माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने सम्भावनाबारे छलफल भइरहेको छ।
‘धारा ७६ (२) मा प्रधानमन्त्री बनाउन कांग्रेस–एमालेले सपोर्ट त गर्नुपर्छ नै, राष्ट्रपतिले पनि कोअपरेट गर्नुपर्छ,’ माधव नेपाललाई प्रधानमन्त्री बनाउन भइरहेका प्रयासबारे जानकार स्रोतले भन्यो, ‘यसका लागि राष्ट्रपतिसँग पनि छलफल भएर राय लिइसकिएको छ।’