इलाममा ह्वात्तै बढ्यो डेकेन्द्रको मत, बझाङमा कांग्रेसले लियो अग्रता
काठमाडौँ – उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् ।
सोमबार बिहान ८ः५५ सम्म प्राप्त अद्यावधिक विवरणअनुसार इलाम २ मा एमालेका सुहाङ नेम्वाङले ८ हजार ८९८ मतका साथ अग्रता बनाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार २८० मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले आफ्नो मत ह्वात्तै बढाएका छन् ।
उनलाई ४ हजार ६३४ मत आएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १३ सय ५ मत पाएका छन् । बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले ८ हजार ४०६ मतका साथ एमालेका उम्मेदवारलाई पछि पारेका छन् । एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार १६५ मत पाएका छन् ।