इलाममा ओलीले दिएको यस्तो अभिव्यक्तिले पहिचानवादी आक्रोशित, यसरी परे निसानामा
काठमाडौँ – इलामको उपचुनावमा पराजित भए पनि पहिचान पक्षधरहरूले आफूले पाएको मत उत्साहजनक रहेको प्रतिक्रिया जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका छन्।
प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको तर्फबाट ९ वटा सङ्गठनले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओली आक्रोशको निसानामा परे।
इलाममा विजेता बनेको एमालेको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बन्दा पहिचान पक्षीय उम्मेदवारले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो। ‘पहिचान विरोधी दलहरूको अघोषित सेटिङले गर्दा अपेक्षित परिणाम हासिल गर्न नसकेको’ उनीहरूको टिप्पणी छ।
“मुद्दाले हारेको छैन, हामीले हारेका छैनौँ, जनताले हारेका छैनन्,” पहिचान सहितको प्रदेश १ पुनः नामाङ्कन अभियान समितिका महासचिव रामभक्त कुरुम्बाङले भने, “प्राविधिक रूपमा हराइएको मात्रै हो, हामीले पाएको मत हेर्ने हो भने गणितीय रूपमा उहाँहरूले जिते पनि नैतिक रूपमा हामीले जितेका छौँ।”
उनीहरूले अध्यक्ष ओलीले आफूहरूको पहिचानको मागको गलत व्याख्या गरेको आरोप लगाए। प्रदेशको नाम पहिचानको विषय नभएको बताउँदै ओलीले मङ्गलवार इलाममा भनेका थिए, “कुनै जाति विशेषको, कुनै व्यक्ति विशेषको, कुनै थर विशेषको आदिको पहिचानको कुरा होइन प्रदेशको नाम।” उनले नेपाली नै सबैको साझा पहिचान भएको बताए।
“हामी धनी भयौँ भने धनी नेपाली, गरिब भयौँ भने दुनियाँले हेप्ने गरिब नेपाली, त्यही हो पहिचान। राम्रो पढ्न-लेख्न पायौँ भने विद्वान नेपाली, पढ्न पाएनौँ भने निरक्षर बुद्धु नेपाली कसले टेर्छ ?” ओलीको भनाइ थियो, “त्यसैले साझा नाम राख्दा केही पनि बिग्रिँदैन, सातै वटा रङ्गका रङ्गिन सुन्दर इन्द्रेणी हौँ हामी, त्यसबाट एउटा रङ्ग अलग भयो भने त्यस्तो सुन्दर देखिँदैन जस्तो सप्तरङ्गी इन्द्रेणी देखिन्छ।” तर किराँत राई यायोख्खा केन्द्रीय उपमहासचिव कृष्ण कुमार राईले उनको भनाइको प्रतिवाद गरे।