एउटा कर्मचारीको अवकाश मन्तब्य : समाजवाद उन्मुख शिक्षाका विषयमा ज्ञान हस्तान्तरण

आइतबार, २३ बैशाख २०८१

पङ्तिकारको जागिरवाट अवकाशको टिप्पणी स्वीकृति गर्ने क्रममा मन्त्री सुमना श्रेष्ठले “निजको कार्य अनुभवका आधारमा मन्त्रालयलाई ज्ञान हस्तान्त्रण र ज्ञान हस्तान्त्रणको प्रस्तुति” उल्लेख गरी सदर गर्नु भएको सन्दर्भमा यो सामग्री तयार भएको थियो । ज्ञान हस्तान्त्रण भनेको खासमा केहो, स्पस्ट नहुँदा नहुँदै छोटो अवधिमा यो लिखत तयार गरी विदाइका वेला प्रस्तुत गरिएको थियो । विशेष गरी तीनवटा विषयक्षेत्र यस लेखले उजागर गर्ने प्रयास गरे लाग्दछ : १) जीवनको एउटा सक्रिय समयमा आर्जन गरेका जीवन दर्शनका विषय २) कार्य अनुभव र ३) अव गर्न पर्ने के । जीवनको मूल्य शुद्द सेवामा छ, क्षमता र ढंग पुगेसम्म अवकाशका क्रममा राम्रो प्रयास गरिएको अनुभूति भईरहेको भएता पनि कुन हदसम्मको गुणान्त्मक र परिमाणात्मक सेवा भयो भनी खुट्याउने सामर्थ्य आफूमा नभएको अभिव्यक्ति लेखकले लेखमा आत्मा मूल्याङ्कन गरेको पाइन्छ । “कार्य अनुभव नै ज्ञान हस्तान्तरण”  हो क्यारे भनेजस्तो गरी लेखमा कार्य अनुभवका नालीवेलीहरु पनि छन् । ती सवै विषयवस्तुलाई आधार बनाई अन्तिममा नेपालको सन्दर्भमा विद्यालय तहको शिक्षाको समाजवादी नमूना नै प्रस्तुत गरिएको छ । त्यही अवकाश मन्तब्यलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

१) जीवन र जागिरस् प्रकृतिको आफ्नै नियम र चक्र छ । जन्म पछि मृत्यु सत्य हो र छ । निजामती सेवा प्रवेश पछि बहिर्गमन हिजै निश्चित थियो त्यही स्वभाविक चक्रमा हामी यहाँ उपस्थित भएका छौं । तीस वर्षभन्दा वढीको जागिरे जीवनमा अनुभव, अनुभूति र शुद्द प्रतिविम्बन र प्रयास कति गर्न सकियो र असुद्द कति भयो खुट्याउने सामर्थ्य मसँग छैन । तीस वर्षको समयावधिलाई सम्झदा दिइएको जिम्मेवारी मिलेन, म त्यहाँ काम गर्न सक्दिन भन्न परेनछ र जिम्मेवारी पूरा गर्न नसकेर फर्किन र असहजता महसुस गर्न परेनछ । यो विषय मेरा लागि सन्तुष्टिको विषय बनेछ खुसी लागेको छ । पाप, पुण्य, धर्मवाट फल प्राप्ति, पूर्वजन्म, अर्को जन्म, भगवान नै सवै कुरा हो भन्ने जसता विषय मेरा लागि विश्वास गर्ने आधार नभएका पिडादायक रहस्य हुन् । सफलता र असफलता प्राप्ति मिहेनत, अनुभव र हाम्रो दिमागले नभ्याउने अदृश्य तत्वहरुको संयोजनमा भर पर्छ भन्ने कुरामा मलाई विश्वास लाग्दछ । त्यसवाट मन, अन्तरआत्मा र ब्रम्हमा पर्ने असर नै ईश्वरीय देन हो । त्यो भन्दा बाहिर ईश्वर र भगवान खोज्न पर्दैन भन्ने अहिलेसम्मको बुझाइ छ । ती मध्ये अनुभव र मिहेनत हाम्रो नियन्त्रणमा भएकाले त्यसैमा शुद्दता कायम गर्न सक्नु नै ईश्वरीय शक्ति प्राप्त गर्नु हो भन्ने लाग्छ । यो जागिरे जीवनमा त्यसवाट धेरै विचलित भइएन भन्ने अनुभूतिले सन्तुष्ट भएको छु ।

२) पहिलो धन्यवाद लोक सेवालाई स् सायद लोक सेवा आयोगमा एउटा पद्दतिको विकास भएको हुँदैनथ्यो भने म जस्ताले यो सरकारी जागिरमा प्रवेश पाइने थिएन् । अहिले नेपालमा पद्दतिमा विश्वास गर्ने संस्था यही मात्र हो कि भन्ने लागेको छ । जनविश्वासमा यसले आदालतलाई पनि कयौं गुना पछि पारेको छ भन्ने लागेको छ । यस परिवेशमा म माननीय मन्त्री शुमना श्रेष्ठ ज्यूलाई सम्झिन्छु र वहाँ प्रति आभार व्यक्त गर्न चाहान्छु । मन्त्रीज्यूवाट ×व्यक्ति होइन पद्दति र कानून हेरौंू भन्ने जुन अन्तरआत्माले बोलिएको छ । त्यसप्रति अन्तर हृदयदेखिनै सम्मान छ । यस्ता कुराले खुसी र गौरव लाग्दो रहेछ । मन्त्री ज्यूवाट मन्त्री नहुँदै राष्ट्रिय शैक्षिक गुहाणस्त मूल्याङ्कन तथा परीक्षण प्राधिकरणको स्थापना गर्ने लगायतका शिक्षा क्षेत्रमा सुधारका सुझावका धेरै विषयवस्तुहरु, मिहेनततिलो प्रयास र उर्जा पढन् र जानकारी लिन पाउदा एउटा राम्रै अवसर गुमाएर बाहिरिन लागिएछ भन्ने भान समेत मनमा उत्पन्न भएको छ । हामीले शैक्षिक गुणस्त केन्द्र स्थापना गर्दा धेरै मिहेनत गरेर यसको एउटा दृष्टिकोण बनाएका थियौं । दृष्टिकोणवाट विचलित हुँदै गएको अवस्थामा यसले उपयुक्त दिशा लिने विश्सास पलायो । औधि नै खुसी लागेको छ । यसको आवश्यकता संघीय स्वरुपमा अझ प्रवल छ भन्ने लाग्छ । यो मन्त्री ज्यू कै नेतृत्व र कार्यकालमा लोकसेवाको जस्तै साख कायम गर्ने गरी विकसित हुनेछ भन्ने लागेको छ ।

३) दोस्रो धन्यवाद मन्त्रालय, मन्त्रालय पद्दतिलाई स् यस क्रममा म दोस्रो धन्यवाद र आभार मन्त्रालय, मन्त्रालय पद्दति र माननीय मन्त्री, श्रीमान सचिव ज्यू लगायत सवै महानुभावमा व्यक्त गर्न चाहान्छु । जागिरका क्रममा आफ्नै पहल र मन्त्रालय पद्दतिको सहयोगवाट करिब २०/२१ देश घुम्ने अवसर प्राप्त भएछ । प्रारम्भिक पढाइको पृष्ठभूमि कमजोर थियो तथापि स्नातक, स्नातकोत्तर र विद्यावारिधि लगायतका आधा दर्जन शैक्षिक योग्यता पूरा गर्ने अवसर यही आएपछि मिलेछ । आफ्नो मनका भावना व्यक्त गर्ने कमजोर गुणस्तरका भए पनि एक दर्जनभन्दा वढी पुस्तक लेख्ने र सयौं लेखहरु प्रकाशन गर्ने सामर्थ्य यसै थलोले प्रदान गरेको हो । मुलुकका सवै जिल्लामा घुम्ने अबसर मिल्यो । सवै जिल्लाका बालबालिकाको पठनपाठनको अवस्था बारेमा सिकाइ भयो । रहनसहन बुझियो । यी यस्ता सिकाइहरुमा धेरै मान्यजन र सथीहरुको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग छ । सवै प्रति आभारी छु । यी परिवेश र अवसरवाट सिकेका कुराहरु तल थप प्रसंगमा उल्लेख गरेको छु । पुस्तक र लेखहरु मार्फत सार्वजनिक पनि गरिरहेको छु ।

४) कमजोर पनि कहिले काही अब्बल हुने रहेछ स् कर्मचारीतन्त्रमा धेरै युवा साथीहरु हुनु हुन्छ । तपाइहरुले जीवनका धेरै वर्षहरु यसै पद्दतिमा विताउन पर्नेछ । विशेष गरी तपाइहरुका लागि यो चौथो बुँदा प्रस्तुत गरेको छु । सन् २००६मा काठमाण्डौं विश्वविद्यालयवाट विद्यावारिधि गरेपछि विविध कारणले कम्तिमा एउटा योग्यताको प्रमाणपत्र विदेशी विश्वविद्यालवाट लिने उत्कृष्ठ चाहन भयो । धेरै ठाउँमा आवेदन गरें सफलता मिलीरहेको थिएन । म्याद सकिन लागेकोले हतारमा एउटा आवेदन गरेको थिएँ । युनेश्कोको प्रधान कार्यलयमा पठाएको थिएँ । पेरिसवाट त्यो हिब्रु विश्वविद्यालयका प्राध्यापक अदाम नीरकोमा पुगेछ । उनले मलाई तपाँइको यो चार पेजको प्रस्तावना आधारमा विश्वव्यापी डिजरभिङ्ग र आउटस्ट्यान्डिङ्ग क्यान्डिडेट भनेर कसरी कन्भिन्स हुने उल्लेख गरी एक वाक्यको इमेल लेखेका थिए । त्यसको जवाफ लेख्न मैले धेरै गुरुहरु र साथीभाइसँग परामर्श लिएँ । मलाई त्यो पत्रले मागे अनुसार आँफूलाई तिक्ष्ण प्रमाणीत गर्ने सहास कसै प्राप्त भएन ।

एकदिन विहानै ती विद्वान प्रध्यापक सामुन्ने आत्मासमर्पण गर्ने भाव उत्पन्न भयो र तत्कालै इमेलमा प्रतिक्रिया लेखें “म होनाहार वा तिक्ष्ण विद्यार्थी होइन । मलाई औपचारिक शिक्षाका शुरुका १, २ र ३ वर्षको शिक्षा प्राप्त भएन, त्यसपछिका विद्यालय शिक्षाका दिनहरुमा घरमा टुकी र आगो बालेर पढेर जेनतेन पुरा गरेको हो । सात कक्षामा पुगेपछि पहिलो पटक चप्पल किनेर लगाएको सम्झना छ । संयोगले मात्र यहाँ सम्म आएर तपाइसँग इमेलमा कुरा गर्न सफल भएको हो । तथापि लगाएको काम इमन्दारिका साथ गर्न सक्छु भन्ने आत्मावल छ ।” यस्तै धेरै गन्थन लेखेर उनलाई पठाइ दिंए । त्यसले वहाँलाई अलमल्याए छ । अस्पतालमा भएका वहाँका गुरुलाई यो कुरा सुनाउन पुग्नु भएछ । ती गुरुका गुरुले “त्यो मन्छेको अंग्रेजी कस्तो छ ?” सोध्नु भएछ । त्यति राम्रो छैन् भन्नु भएछ । गुरुले “व्यकरणीय शुद्दता कस्तो छ ?” भन्नु भएछ गल्तिहरु प्रयाप्त छन् भन्नु भएछ । “त्यसो भए कुनै कुरामा संकोच नगरी उसलाई विशेष नोट लेखेर भए पनि फेलोसिपमा शिफारिश गर्नु” भन्नु भएछ ।

मैले उत्तरविद्यावारिधि अर्थात पोष्टडक्टोरेटको फेलोसिप पाएँ राम्रो धनराशीको छात्रवृत्ति थियो । पछि निर्धारित रकममा पाँच हजार डलर थप भयो । मलाई पारिवारिक पक्षमा व्यवस्थापन गर्न समेत त्यसले उल्लेख्य सहयोग गर्यो । त्यो अनुसन्धान “सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा राजनीतिक स्थिरताको प्रभाव अर्थात The effect of political stability on public education quality विषयमा थियो । शैक्षिक व्यवस्थापन (Educational Management) नामको अन्तराष्ट्रिय वार्षिक पत्रिकामा प्रकाशित भै सन् २०१४ मा “उच्च प्रशंसनीय लेख पुरस्कार” दिन अमेरिकाको फिलेडलफियामा आमन्त्रण गरियो र अमेरिकामा करिब एक महिनासम्म घुम्ने अवसर समेत मिल्यो । त्यो प्राप्ति पनि लेखका विषयवस्तु अब्बल भन्दा शीर्षक अव्बल भएर हो जस्तो लाग्छ । त्यसैले मैले भनेको हुँ आत्मानुभूति र अदृश्य संयोग र शक्ति नै ईश्वर होला । साथीहरुका लागि उपयोगी होला भनी यी कुरा राख्ने साहस गरें ।

५) जागिरे जिम्मेवारीको स्मरणस् जहाँ गएँ र जे जिम्मेवारी पाएँ त्यहाँ एकोहोरो भएर काम गर्ने र त्यही हराउने र रमाउने मेरो आदतै बन्यो जस्तो लाग्छ । मेरा गुरुहरुले मलाई ×वढी अन्तरमूखी ९इन्ट्रोभर्ट० स्वभाव को मानिस हो तिमी भन्नु हुन्छ । यसका सवल पक्ष पनि छन् र कमजोर पक्ष पनि छन् । यो बोल्नेको पिठो विक्ने समय हो आफ्नो कुराको प्रचार पनि गर्न सक्नु पर्छ भन्नु हुन्थ्यो ।ू जागिरको क्रममा आफ्नो रुची र क्षमता उपयोग हुने ठाँउमा स्वभाविक विचार राख्ने भन्दा बढी यहाँ जान्छु मलाई यहाँ पठाइदिनु भनेर बल कहिले गरिएन ।

एक पटक काठमाडौँको जिल्ला शिक्षा अधिकारी हुने रहर लाग्यो आफ्नो इच्छा राखें केही साथीहरुले सदासयता समेत देखाउनु भयो । ती साथीहरुलाई अहिले पनि सम्झन्छु ×मैले मन गरेको थिएँ, तपाई जाने भए म कोशिस गर्दिनू भन्नु भयो, मलाई नै सहयोग गर्नु भयो । तर मेरो भएन । त्यसका धैरै पक्ष रहेछन् । तत्कालीन सचिव ज्यू र मन्त्रीज्यूले ×तपाई जस्तो योग्य व्यक्तिलाई नै हो नि काठमाडौँमा जिल्ला शिक्षा अधिकारी बनाउनेू भन्नु भएको थियो । पछि मलाई मन्त्री ज्यूको वाध्यता थाहा भयो “धेरै जना इच्छुक रहेछन् । धेरैको लागि जनप्रतिनिधिहरुले मलाई भन्नु भयो तर उसको बारेमा एक जना माननीयले पनि भनेन्, अर्को एकै जनाको लागि दश जना मानीय मकहाँ भेट गर्न आउनु भयो । त्यसैले अर्कोलाई गर्न पर्यो ।” भन्नु भएछ । मन्त्रीज्यूको बाध्यतालाई सहजरुपमा लिइयो । मेरो कारणले असहजता भएछ क्यारे भन्ने लाग्यो । भित्र असहज भाव पनि उत्पन्न भयो । तथापि यसबाट पनि मलाइ सिकाई भयो ।

६) सवै जिल्ला पुगे पछिको धेरैमध्येको एउटा सिकाइ स् यस बारेमा छुट्टै सामग्री तयार भएको छ । यहाँ एकै वाक्यमा यो सिकाइलाई भन्न पर्दा “अलि बढी चासो राख्ने विद्यालयमा काठमाडौँमा विकास गरिएका पठ्याक्रम र पाठ्यसामाग्री दूरदराजका विद्यालयमा उपलब्ध छन्स उपयोग पनि भएको छस चासो नराख्ने काठमाडौँ र वरपरका विद्यालयमा पनि भेटिदैन ।” यसले हाम्रो संवेदनशिलतामा सवलता ल्याउने क्षमता विकास र तालिम कार्यक्रमहरुको माग गर्दछ जस्तो लाग्दछ । निगरानी र सहजीकरणको साह्रै खाँचो देख्दछु यस्का लागि ठूलो धन राशी लाग्ने पनि होइन । सकरात्मक पक्ष के हो भने देशभर एउटै खाका र स्वरुपमा पठनपाठन भएको छ । यी र यस्तै सिकाइ भए ।

७) विदेशका अचम्म लाग्दा कुरा स् सेवावाट अवकाश हुँदै गर्दा विदेशमा भ्रमणको क्रममा केही सिकाइ भएका कुरा स्परणमा आइ रहेको छ । आँफूलाई आश्चर्य लागेका विषय यो सामग्री तयार गर्दै गर्दा परिदृश्यकृत भए । अमेरिकाका गरिबहरु उनीहरुलाई बाँडिने खाद्य सामाग्री लिन आफ्नै कारमा आउदा रहेछन्, बोस्टनवाट करिब चार घण्टा गुडेपछि वेडफोर्ड भन्ने ठाँउमा रेडक्रसको अमेरिकाका अति गरिबलाई खाद्य सामग्री बाँड्ने काममा संलग्न हुने अवसर पाएको थिएँ । इजिप्टको खानखलाली बजार विश्वकै ठुलो घटाउने ९बारगेनिङ गर्ने० र आनन्द लिने बजार रहेछ । इजिप्टको नाइल नदी, पिरामिड, अलेक्जेण्ड्रीयाका विषयवस्तु भन्दा पनि त्यो बजारमा एक दिनभर एक्लै विताएको कुरा स्मरणमा वढी ताजा भयो । इजरायलको मृत सागरमा पानीमा नडुविने, पानीमा नै सुतेर पत्रिका पढ्न सकिनेस् इथियोपियाका मगन्ते, कम्वोडियाको समुद्रमा तैरिने गाउँ (फलटिङ भिलेज), बंगलादेशको ट्राफिकजाम जस्ता कुरा जीवनभर स्मरणमा नै रहन्छन् जस्तो लाग्छ । दक्षिण कोरियाको सीप प्रतिस्पर्धाको एक महिने अनुगमन र हाम्रो सिटिइभिटिको दशा यी पनि सेवा कै क्रममा आर्जित सिकाइ हुन । छुट्टै सामग्री तयार गर्ने क्रममा पनि छु । आभारि छु ।

८) सेवा प्रवाहमा पिर परेको छैन् स् म यस बुँदामा हाम्रै कामका बारेमा अलिकति आत्माआलोचित हुने प्रयास गर्छु । त्यसपछि अव के गर्ने भन्ने बारेमा सङ्क्षिप्तमा प्रस्तुत गर्नेछु । हामीले प्रवाह गरेको सेवाका बारेमा आत्मालोचना गर्दा हाम्रा सेवाहरु भूँइको मर्म र करुणामा समाहित हुन नसकेको हो भन्ने मनले भनिरहेको छ । हामी सर्भाइवल र रियाक्टिभ भयौं कि भन्ने कुरा तल्लो तहका मानिसहरुको संगतवाट अनुभूति भएको छ । हामीलाई त्यसो गराउनमा संभ्रान्त र नवसंभ्रान्त वर्गको प्रत्यक्ष र परोक्ष भूमिका छ भन्ने कुरामा श्रृखलाबद्द तर्क मनमा उत्पन्न भएको छ । संसारको सवै मुलुकमा कुनै न कुनै रुपमा भएको तर हामीले ध्वस्त बनाएको शिक्षक सहयोग पद्दति विउताउन सकिएको छैन् ।

भूँइका सेवाग्राहीको उपयुक्त सेवा, सहजीकरण, क्षमता विकास, स्यावासी आदि साह्रै कमजोर अवस्थामा छन् भन्ने लाग्छ । सामान्यजनले आँफूसँग राज्य छ, भन्ने कुराको अनुभूति गर्न सकेको छ भन्ने लाग्दैन । युग प्रविधि र विशिष्टीकरण हो भन्ने लाग्दालाग्दै हाम्रा व्यवहार एकीकृत र केन्द्रिकृत पो हुँदै गएका त छैनन् भन्ने तर्फ पनि सोच्न पर्ने जस्तो लाग्छ । स्रोत, पद वा सत्ताको रापले सवैलाई भेटेको छ । साना र मसिना कुरामा गहिरिने फूर्सद कम देखिन्छ । पछिल्लो समयमा प्रदेश सरकारको सचिवको भूमिकामा काम गर्ने अवसर मिल्यो । यसवाट यस प्रकारका निकै धेरै सिकाइ भयो । कर्णालीका अनकण्टारका बासिन्दाको राज्यमा पहुँच, पातलिदै गरेका वस्ती, नवसंभ्रान्तहरुको विगविगी जस्ता पक्षहरुमा भित्रसम्म पसेर छिचल्न पर्ने अवस्था छ भन्ने लग्दछ । प्रवृत्ति नै बदल्नु पर्दछ भन्ने विषयमा दूरदरारका थुप्रै घटनाहरुले मनमा उद्देलित गरेको छ । सशक्तीकरण विनाको निगाहमा पाइने सुविधा र मुक्ति अर्थहीन हुने रहेछ भन्ने कुरा नजिकवाट नियाल्दा अनुभूति भएको छ ।

९) अव गर्ने के (कार्य अनुभवका आधारमा मन्त्रालयलाई ज्ञान हस्तान्तरण) : यो बुँदा अनुभव र सिकाइ हस्तान्तरणको मूल बुँदा हो । जस्मा विद्यालय शिक्षामा सुधार पहिलो र मूल विषय छ ।

क) विद्यालय शिक्षा : एउटा गाउँ र दुर्गमको सामुदायिक अर्थात सार्वजनिक विद्यालय कसरी सुधार गर्ने भन्ने कुरावाट सुधारको प्रसंग प्रारम्भ गरौं । एक एक विद्यालय सप्रिदा नेपालको शिक्षा गुणस्तरीय हुने हो । नेपालका सार्वजनिक विद्यालयहरु स्थानीय समुदायको पहल, प्रयास र पैसावाट स्थापना भएका हुन् । त्यस्तो संस्थाले स्थानीय जनताको सहयोग पाएन भने त्यसको बाँच्ने अधिकार हुँदैन् । दिगो रुपमा संस्थागत भएर उपलब्धि दिन सक्दैन् । यो सैद्दान्तिक कुरा पनि हो र व्यवहार सिद्द छ । जहाँ स्थानीयतहसँग शिक्षक जोडिएका छन् र केही प्रविधि ज्ञान र सीप छ त्यहाँको शिक्षा राम्रो छ । त्यस्ता शिक्षकसँग पाठ्यक्रम र पाठ्यसामग्री छ । राज्यसँग जोडिन सीप पनि विकास गरेका छन् । त्यस्ता शिक्षक कम छन् । तिनै शिक्षकहरु नै हामी सवैको सिकाइको थलो हुनु पर्दछ । त्यसलाई विस्तार गर्न मज्जाले सकिन्छ ।

त्यसका लागि विद्यालयमा नै आधारित शिक्षक सहयोग पद्दति चाहिन्छ । त्यस्तो शिक्षक सहयोग तथा क्षमता विकास कार्यक्रमले शिक्षकले हरेक बच्चालाई पढ्न सक्ने बनाउनु पर्दछ । बच्चालाई राम्रोसँग नचिनेसम्म शिक्षक हुने अधिकार नै रहेन छ भन्ने कुरा हरेक शिक्षकमा अन्तरभूत हुनु पर्दछ । बच्चाको बारेमा जस्तो जुन प्रश्न सोधे पनि शिक्षक उत्तर दिन तयार हुनु पर्दछ । स्थानीय परिवेशका समाजिक विकृति पहिल्याइ त्यसैलाई सिकाइमा जोड्ने गरी शिक्षक तयार गर्न पर्ने हुन्छ । स्थानीयता र अभिभावकसँग अन्तरघुलन हुने सहज काइदा शिक्षकमा विकास गर्नु पर्छ । त्यसो गर्ने काइदा धेरै छन् । स्रोतमात्र अहम् विषय होइन् ।

शिक्षक र समुदायलाई प्रविधि र बालमैत्री विद्यालय व्यवस्थापन, दिवा खाजा। शिक्षकको आलोपालो व्यवस्थापन, स्थानीय सरकारसँग गर्ने व्यवहार र सम्बन्ध, अभिभावकको विद्यालयमा सहभागिता, छात्रवृत्ति र सहुलियतको कुशल व्यवस्थापन जस्ता पक्षमा क्षमता विकासको खाँचो छ । यो काम अहिले कै व्यवस्थापन समितिलाई सघन क्षमता विकास कार्यक्रम संचालन गरेर सम्पन्न गर्न सकिन्छ । विद्यालयलले बालबालिकामा मनोपरामर्श सेवा, अपाङ्गता भएका, यौनजन्य दुरव्यवहार, यातना-बुलिङ आदिरू पठनपाठनका अभिन्न अंग हुन भन्ने कुरालाई आत्मासाथ गर्नु पर्ने हुन्छ । यी र अन्य पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तु सिकाउनका लागि शिक्षकलाई निरन्तर शिक्षणसिकाइ विज्ञको सहयोग चाहिन्छ । यी विषय अनुभवका मात्र होइन विश्वव्यापीरुपमा अभ्यास भैरहेको छ । गर्न सकिन्छ र गर्नु पर्छ ।

त्यस्तो शिक्षणसिकाइको वातावरण बनाउन तीनै तहको सरकारको आ÷आफ्नो क्षेत्रधिकार अनुसार शिक्षामा योगदान गर्ने आधार हुन्छ । जसअनुसार विद्यालयमा बालबालिका मैत्री कक्षा बनाउन स्थानीय सरकारले प्रदेश सरकारको सहजीकरणमा समपन्न गर्न सक्छन् । स्थानीय सरकारले सुधारको पूर्ण जिम्मेवारी लिदै हरेक अगुवा विद्यालय र अन्तरगतका विद्यालयहरुका लागि पठनपाठनमा सहयोग गर्ने सहयोगी विज्ञ ९पेडागोजिकल सपोर्टपर्सन० को व्यवस्था गर्न पर्ने हुन्छ । यसका लागि संघीय सरकारले सशर्त अनुदानको रुपमा रकम उपलब्ध गराउन पर्ने हुन्छ, केही मात्रामा उपलब्ध पनि गराइ रहेको छ । प्रदेश सरकारले क्षमता विकास र कार्यन्वयनमा निगरानी गर्नेछ । हामीले यस किसिमको नमूना कर्णलीमा विकास गरी कार्यविधि पनि बनाएर कार्यन्वयन प्रक्रिया अग्रसारित गरेका पनि थियौं ।

यसवाट सिकाइ के भएको छ भने हामीमा समस्याको गहिराइ स्रोतमा भन्दा व्यवस्थापनको गराइमा छ ९यस बारेमा छुट्टै समग्री तयार भएको छ० स्पस्ट दृष्टिकोण सहितको खाकामा काम गर्ने हो भने सुधारका लागि धेरै समय लाग्दैन । नेपालको सवै भन्दा धनी तथा सवैभन्दा उच्च ओहोदामा रहने मानिस र सर्वसाधरणले पाउने शिक्षाको स्तर एउटै हुन्छ । सायद संविधानले प्रत्याभूत गरेको समाजबाद उन्मुख राज्यलाई सुहाउने शिक्षा यही हो । यसको विस्तारको लागि खाका र कानूनी आधार दिने काम संघीय सरकारको हो भन्ने लाग्दछ । संघीय सरकारले बनाउने मार्गदर्शन वा खाकामा स्रोत व्यवस्थापन र साझेदारीको तरिका स्पस्ट गरिनु पर्दछ । केही स्थानीय तहहरु सुधारका लागि व्यकुल छन् तर अत्यन्त प्राविधिक र बच्चाको शिकाइसँग सम्बन्धित भएकाले अलमलमा छन् । मूल कुरा के छ भने सेवा प्रवाह गर्ने जनशक्ति नै छैन् । त्यही कारणले सेवा अपेक्षित भएन भन्ने अक्किल स्थानीय तहँग आएन । भएकाको क्षमता विकासको अवस्था नाजुक छ । यी विषयवस्तुलाई छिचल्ने गरी अनुभव, अध्ययन र अन्तरक्रियाका आधारमा एउटा भिन्न सामग्री तयार गरिएको छ । एउटा मध्यम संख्यामा विद्यालय र विद्यार्थी भएको पालिकाका लागि कम्तिमा शिक्षा शाखामा सात जना र प्रयाम्तमात्र शिक्षक सहयोगी विज्ञ नभएर अपेक्षा गरे अनुसारको पुर्याउन सकिदैन् । यी यावत पक्षलाई पथपर्दर्शन गर्ने खाका बनाउने जिम्मेवारी हाम्रो शिक्षा मन्त्रालय वा संघीय सरकारको हो भन्ने लाग्दछ ।

हाम्रो मानवीय सोच नै केन्द्रिकृत हुने रहेछ । अरुले गर्न सक्छ र ? भन्ने प्रश्न मानिसमा स्वभाविक रुपमा उत्पन्न हुने रहेछ । यो मानव प्रकृति रहेछ । त्यसैले विकेन्द्रीकरण र तीनै तहको सरकारको भूमिकाको संघीय राज्य व्यवस्थाको कल्पना गरिएको हुनु पर्छ । हामी पनि त्यस्तै भएका छौं भन्ने लाग्छ हामी कति अरुलाई जिम्मेवार बनाउन सक्छौं उति सफलता प्राप्त हुँदै जाने रहेछ भन्ने अनुभूति भएको छ ।

ख) प्राविधिक तथा व्यवशायिक शिक्षा र तालिमका र उच्च शिक्षाका बारेमा अनुभवलाई उद्देदित गरी छुट्टै सामग्री तयार गर्ने क्रममा नै छु । सङ्क्षिप्तमा मात्र के भन्न चाहान्छु भने प्राविधिक तथा व्यवशायिक क्षेत्रमा विद्यालय शिक्षामा जस्तो भएकै परिवेशमा मूल्यथपले मात्र पुग्दैन् । आक्रमक हस्तक्षेप चाहिन्छ । सिटीइभिटिको पूनस्संरचाना गरी कम्तिमा २५० जना विदेशमा गएका समेत युवाहरुलाई भित्र्याउन पर्ने जस्तो लाग्छ । विदेशवाट यस विषयक्षेत्रमा मास्टर्स गरेका र त्यतै अलमलिएका युवाहरु सेक्सन अफिसरको जागिर पाए नेपाल फर्किन्छु र केही गर्छु भन्ने प्रयाप्त छन् । लोक सेवा आयोग पास गर्ने सीप नहुँदा त्यता तिर आँट नै गर्दा रहेनछ, त्यो समुदायले । त्यसरी जनशक्ति व्यवस्थापन गरी रातदिन विहान वेलुकि जुनवेला जस्तो तालिम चाहिन्छ तत्कालै तालिमको प्याकेज बनाएर तालिम दिने सामर्थ्य भएको संस्थाको रुपमा विकास गरिनु पर्छ । त्यसका लागि सुरेश राज शर्मा जस्ता व्यक्तिको प्रयासवाट भौतिक पूर्वाधारको व्यवस्था हिजै गरिएको थियो । हामीलाई मानवीय स्रोत व्यवस्थापनको विषय मूल चुनौती भएको छ ।

१०) निचोड : उही स्रोत, उही साधन, यस्तै संरचना र अपेक्षित रुपमा क्षमता विकासको अवसर नपाएको जनशक्तिवाट शिक्षामा ठूलो फड्को मार्छु भन्नु गाह्रो कुरा हो भन्ने लाग्दछ । शिक्षामा सुधार शिक्षा मन्त्रालयको मात्र विषय बनेर अर्थमन्त्रालयसँगको रस्साकस्सिले मात्र पुग्दो रहेनछ, साच्चै नै राज्यको एजेण्डा व्यवहारमा बन्नु पर्ने रहेछ भन्ने लागेको छ ।

जागिरे जीवनको मध्यतिरवाट उत्तार्धतिर लाग्दै गर्दा असाध्य रोगले केही समय अक्रान्त नै पार्यो, छ पटक त शल्यक्रिया (अपरेशन) नै गर्नु पर्यो, अहिले स्वास्थ्य ठीकै छ । आज ९मिति २०८१ सालको १४ गते० वाट सक्रिय जीवनको एउटा अध्याय सकिएको छ । यतिवेला (केही दिन पछिको एक महिना) नेपालको ग्रामिण र विकटको गाउँको विद्यालयमा गएर अपरिचित शिक्षाशास्त्रको विद्यार्थी बनेर तीन तहका सरकारको शिक्षामा योगदान र नेपाली पनको समाजबादी शिक्षाको बारेमा थप सिकाइ गर्ने विषयवस्तु मनमा उब्जेको छ ।

अन्तयमा, यस क्रममा सहजता प्रदान गर्नु हुनेमा आभार छ, धन्यवाद छ । असहजता महशुस गर्नु हुनेमा क्षमा प्रार्थी छु । आशिर्बादले यसरी नै हराइ रहन पाउँ, सवैमा आभार सहित धन्यवाद ।
समाप्त