गठबन्धनमा फेरि खटपट, समाजवादीका सोडारीलाई विश्वासको मत नदिन ओलीको यस्तो निर्देशन

आइतबार, २३ बैशाख २०८१

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

नेता रावलले शनिबार राति अध्यक्ष ओलीसँग करिब २ घण्टा गरेको भेटवार्तामा ओलीले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष ओलीसँग रावलसँगै प्रमुख सचेतक सुरेन्द्र पालले बालकोटमा भेटवार्ता गरेका थिए । ‘हामीले विश्वासको मत दिने भनेकै छौँ । तर हामीसँग छलफल नै नगरी उहाँ (मुख्यमन्त्री) विश्वासको मत लिन हतारिनुभएको छ’, रावलले भने, ‘अहिले हामी हतारिने पक्षमा छैनौँ ।’

अध्यक्ष ओलीसँगको छलफलमा समेत ओलीले आफूहरूलाई तत्काल विश्वासको मत दिन सुझाव नदिएको बताए । ‘हिजो अध्यक्ष ओलीसँग छलफल भयो, आज महासचिव शङ्कर पोखरेलसँग पनि कुरा गर्छौ’, रावलले भने, ‘हामी आन्तरिक रूपमा पनि छलफलमै छौ ।’

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले सकारात्मक नभएपछि शनिबारलाई समय सारिएको थियो । तर शनिबार पनि प्रदेश सभा बैठक बस्न नसकेर अनिश्चित कालका लागि स्थगित भयो । शनिबार नै नेता रावल र पाल पनि अध्यक्ष ओली भेट्न काठमाडौँ आएका थिए ।