भुक्तानी प्रणालीमा भ्रष्टाचार गर्ने सुनिल पौडेललाई ९ वर्ष कैद, करोडौं जरिवाना

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं – विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसलासमेत भएको छ । वैशाख ७ गते विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका सचिव मधुकुमार मरासिनीसहित अरू ८ जनालाई सफाइ दिएको थियो भने पौडेललाई दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असोज, २०८० मा सचिव मधु मरासिनीसहित ९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विषयगत दक्षता र कानूनी अधिकार नभएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)लाई राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको जिम्मेवारी दिई रकम निकासा गरेको, तर ठेक्का सम्पन्न भएको पाँच वर्षसम्म प्रणाली सञ्चालनमा नआएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।