आरजु देउवा जेल सम्भावना बढ्यो, सीआईबीले सुरू गर्‍यो अनुसन्धान

आइतबार, ३० बैशाख २०८१

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ अनुसन्धान सुरू गरेको छ । यो अनुसन्धानमा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा, नागरिक उन्मुक्ति पार्टीको संरक्षक रेशम चौधरी लगायतका भिआईपीमा पनि हुने भएको छ ।

टीकापुर क्षेत्रको विकास गर्न भनेर स्थापित टीकापुर विकास समिति र पहुँचवालाको मिलेमतोमा उक्त क्षेत्रमा ठूलो मात्रामा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अख्तियारको पत्राचारपछि ब्यूरोले कीर्तेतर्फ पनि अनुसन्धान थालेको हो ।

‘अख्तियारको पत्राचारपछि कीर्तेतर्फ पनि अनुसन्धान थालेका हौं । सरकारी कागज कीर्ते गरेर जग्गा हिनामिना गरिएको भन्ने छ । ब्यूरोबाट अनुसन्धान टोली तत्काल कैलाली पठाउँदै छा’ ब्यूरो प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए । यसअघि अख्तियारले दायर गरेको मुद्दामा ‘टीकापुर नगरपालिका–१ स्थित टीकापुर बजार क्षेत्रको करिब ६ सय रोपनी जग्गा नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष, पदाधिकारी एवं कर्मचारीको संलग्नतामा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचबिखन गरेको’ उल्लेख छ ।

राजनीतिक पहुँच र मिलेमतोमा जग्गा हिनामिना भएको आरोप लाग्दै आएको छ । सो जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेतृ आरजु देखि चौधरीसम्म संलग्न रहेको दाबी गरिएको थियो । तर, अख्तियारले उनीहरुलाई भने प्रतिवादी बनाएको थिएन । जग्गा हिनामिनाको क्रममा थुप्रै सरकारी कागजपत्र कीर्ते बनाइएको खुलेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराइसकेको अख्तियारकै आग्रहमा प्रहरीले कीर्तेतर्फ पनि अनुसन्धान थालेको हो । यो अनुसन्धानले आरजुदेखि चौधरीलाई डाम्नेछ ।