पार्टी फुटले रन्थनिएर हिडेका उपेन्द्रलाई सर्वोच्च अदालतबाट आयो खुशीको खबर

बुधबार, २ जेष्ठ २०८१

काठमाडौँ – सर्वोच्च अदालतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको इजलासमा भएको प्रारम्भिरक सुनुवाइपछि बुधबार निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न अन्तरकालीन आदेश जारी भएको हो।

अन्तरिम आदेश जारी हुने कि नहुने भनेर जेठ ८ गते हुने सुनुवाइपछि मात्र निर्णयमा पुग्ने अदालतले जनाएको छ।निर्वाचन आयोगको वैशाख २४ को बैठकमा भएका विभिन्न निर्णयमध्ये कतिपय कार्यान्वयन भइसकेका र कतिपय कार्यान्वयनको प्रक्रियामा रहेका भन्ने देखिन आई उक्त विषयमा निर्वाचन आयोगसमेतसँग छलफल गरी निष्कर्षमा पुग्न मनासिव देखिएकाले उक्त बैठकबाट भएका निर्णयहरू र सोका आधारमा भएका कामकार्बाही जहाँ जेजस्तो अवस्थामा छन्, सोही अवस्थामा राख्न अदालतको आदेशमा भनिएको छ।

यस्तै अदालतले २०८१ जेठ ८ मा छलफलको लागि उपस्थित हुन दुवै पक्षलाई बोलाएको छ। अदालतले राई नेतृत्वको दल दर्ता गर्दाका आधार र कारण पनि खुलाएर लिखित जवाफ पेस गर्न समेत आदेश दिएको छ। लिखित जवाफ पेस गर्न अदालतले १५ दिनको समय दिएको छ।