राजनीतिक क्षेत्रमा कांग्रेसले दलाल पुँजीवादको रक्षा र प्रतिनिधित्व गरिरहेको छ: अनिल सी
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीले राजनीतिमा कांग्रेस र अर्थतन्त्रमा मुट्ठीभर मारवाडीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको बताएका छन्।
सुक्रबार बिरगंजमा आयोजित नेकपा पर्सा जिल्लाको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता अनिलले देशको राजनीतिक क्षेत्रमा कांग्रेसले दलाल पुँजीवादको रक्षा र प्रतिनिधित्व गरिरहेको आरोप लगाउँदै राजनीतिमा कांग्रेस र अर्थतन्त्रमा मुट्ठीभर मारवाडीले दलाल पुँजीवादको नेतृत्व गरेको बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्रमा मुट्ठीभर मारवाडीहरूले कालो बजारी गर्ने, नेपाललाई दोहन गरेर सम्पत्ति भारतमा थुपार्ने, बित्तिय संस्था, विमा, शेयर बजार, घरजग्गा, खानी तथा ब्यापारमा एकाधिकार कायम गरिरहेको बताए ।
उनले भने,”जनयुद्धमा राजनीतिक दबालीमाथि प्रतिरोध भएको भएपनि अर्थतन्त्रमा रहेको दलाल पुंजीवाद विरुद्धको प्रतिरोध कमजोर भएको छ। यसलाई नेपाली विशेषताको समाजवादले विश्लेषण नयाँ रूपले गर्नेछ ।”
सो कार्यक्रममा केन्द्रीय सदस्यहरू किमसी र विनोद सीले पनि प्रशिक्षण दिएका थिए । जिल्ला सेक्रेटरी फिरोज सी अध्यक्षतामा बसेको बैठकले प्रचार प्रसार तिब्र पार्ने, सबै पालिकामा गोष्ठी गर्ने, मिटरब्याज विरुद्ध सङ्घर्ष गर्ने, जनसेवाका काम गर्ने, जुझार पार्टी निर्माणमा ध्यान दिने तथा असार १० गतेसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
मधेस प्रदेशका सबै जिल्ला स्तरका बैठकहरु सकिएकाले अब जवसका काम र निर्णय कार्यान्वयनमा ध्यान केन्द्रीत गर्ने योजना रहेको वीरगन्जबाट प्रेषित समाचारमा जनाइएको छ।