गुठी पीडितमाथिको दमनकारी रवैया नरोके नेकपाले कडा संघर्ष गर्ने
दाङ – नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके कडा संघर्ष गर्ने चेतावनी दिएको छ । नेकपा दाङले आइतबार विज्ञप्ति जारी गर्दै गुठी पीडितमाथि प्रदर्शनको क्रममा भएको प्रहरी दमनको विरोध गर्दै संघर्षमा उत्रिने चेतावनी दिएका हो ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वर्गद्वारी गोरक्ष लगायत गुठी पीडित किसानहरुले राज्यको तर्फबाट गरिएका विभिन्न सहमति सम्झौताहरु यथासिघ्र कार्यान्वयनको माग गर्दै मालपोत कार्यालय र नापी कार्यालय घोराहीमा शान्तिपुर्ण संघर्षको क्रममा १० जना किसानहरुलाई घाइते बनाएको घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा जमिनको स्वामित्व मागिरहेका किसानहरुमाथि गरिएको दमन र ज्यादतीको निन्दा र भत्सर्ना गर्दै घाइतेहरुको भरपर्दो निशुल्क उपचारको व्यवस्था मिलाउन गम्भीर ध्यानाकर्षण गराइएको छ । साथै, किसानहरुले चलाइरहेको संघर्षमा पार्टीको विगतदेखि नै सहयोग र समर्थन रहँदै आएको र आजदेखि किसानले थालेको आन्दोलनमा पनि पूर्ण समर्थनसहित सहयोग उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै प्रचण्ड–केपी सरकारले किसानलाई जमिनको पूर्णस्वामित्व यथासिघ्र उपलब्ध गराउन जोडदार माग गरिएको छ ।
