स्वास्थ्य मन्त्रालयमा उथलपुथल, हाकिमहरुको व्यापक सरुवा
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभागका हाकिमहरुको व्यापक सरुवा गरेको छ । बुधबार मन्त्रालयले विभाग र अस्पताल प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप आदवले मन्त्रीस्तरीय निर्णय गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा यदुचन्द्र घिमिरेलाई ल्याएका छन् । यस्तै, आयुर्वेद विभागको निर्देशकमा डा. प्रदीप केसीलाई सरुवा गरेको छ । उनी यसभन्दा अगाडि सिंहदबार आयुर्वेद औषधालयको प्रमुखको जिम्मेवारीमा थिए ।
यसअघिका निर्देशक डा. वासुदेव उपाध्याय लुम्बिनी प्रदेश अन्तरगत सरुवा भएपछि केसीलाई विभागको जिम्मेवारी दिइएको हो । भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. कृष्ण प्रसाद पौडेललाई दिएको छ । भरतपुर अस्पतालमा यसअघि डा. श्रीराम तिवारी प्रमुख थिए ।