बढेर गयो बालबालिकामा दमको रोग, कसरी गर्ने रोकथाम ?

बिहिबार, २४ जेष्ठ २०८१

काठमाडौं – पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभर वायुप्रदुषण बढ्दै गएको छ । वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसमसमेत राम्रो हुन सकेको छैन । धुवाँ, धुलो, वायुप्रदुषण, वंशाणुगत गुण, घरमा धूम्रपान, मोटोपना, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्याधिक बढ्दै गएको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका बाल, एलर्जी तथा दमरोग विशेषज्ञ डा. सञ्जयराज थापाका अनुसार बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रूघाखोकी, भाईरल ज्वरो हुँदा, श्वासप्रश्वास नली साँघुरिदा दमको समस्या हुने गरेको छ । श्वासप्रश्वास नली साँघुरिदा खोकी बढी मात्रामा लाग्नेसमेत गर्दछ । रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दापनि बढी खोकी लाग्ने, एन्टिवायोटिक खादाँ एक दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने यस्तो भएमा दम भएको हुनसक्छ । यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्छ डा. थापाको भनाई छ ।

‘दमलाई औैषधीले ठिक गर्ने होइन, ठिक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ ।’, उनले भनेका छन्, ‘अन्यथा, दम दिर्घरोग भएर जान सक्छ । दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ । इन्हेलर विभिन्न खालका हुन्छन् । जसलाई डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्नु पर्ने हुन्छ ।’

उनका अनुसार बच्चाहरूमा मुख्यत दम एलर्जीबाट हुने हुँदा ठिकसँग औषधी लिएमा पछि गएर आफै हराउन सक्छ र लामो समय इन्हेलर लिइ रहनु पर्ने आवस्यकता रहदैन । ‘दमका विरामीबाहेक अस्पताल आउने अन्य विरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका विरामी बढी आउने गरेका छन् । रुघाखोकीका विरामी अत्याधिक रुपमा बढेको छ । बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चा समेत विरामी हुने गरेको पाइन्छ । मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका विरामी अत्यधिक बढेका छन् ।’, उनले भने ।

ग्राण्डी अस्पतालमा आउने १०० जना विरामी मध्ये ५ देखि १० जना विरामी दमका हुने गरेको छन् ।