कोरियाका विश्वविद्यालयको नक्कली अफर लेटर बनाएर एनओसी लिन लगाउँछन् कन्सल्टेन्सी
काठमाडौं – नेपालका नाम चलेका शैक्षिक कन्सल्टेन्सीहरुले विभिन्न विश्वविद्यालयका नक्कली अफर लेटर बनाएर विद्यार्थीको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) बनाउने गरेको रहस्य खुलेको छ । चार बर्षे कोर्ष अध्ययन गर्न कोरिया पुगेका विद्यार्थीले विश्वविद्यालयबाट दुई वर्षमात्र पढ्न पाउने जानकारी पाएपछि यस्ताे रहस्य खुलेको हो ।
कोरियाका सियोजङ युनिभर्सिटी, युनिभर्सिटी अफ उल्सान, जङ्गम युनिभर्सिटी र देवाङ युनिभर्सिटीको नक्कली अफर लेटर बनाएर शैक्षिक कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीहरुलाई झुक्याउने गरेका छन् । ‘यी चार वटा कलेज विश्वविद्यालय होइनन्, सामान्य टेक्निकल कलेजमात्र हुन् । यी कलेजमा २ वर्षे टेक्निकल कोर्षहरु मात्र पढाई हुनेरहेछ ।’, कोरियाको सियोजङ युनिभर्सिटी पुगेका एक विद्यार्थीले भने, ‘हामीलाई चार बर्षको नक्कली अफर लेटर बनाएर झुक्याउँदै एनओसी बनाउन लगाएका रहेछन् ।’
कन्सल्टेन्सीले यी कलेजहरुमा सस्तो ट्युसन फि, प्राइम लोकेशन, दुई बर्षपछि फुल टाइम काम गर्न पाइने लगायतका प्रलोभन देखाएर झुक्याएको विद्यार्थीको भनाई छ । ‘यी कलेजहरुमा चार बर्षे कुनै पनि कार्यक्रम छैन । उनीहरुले कलेजको अफर लेटरलाई इडिट गरेर चार बर्षे बनाएका हुन्छन् ।’, एक शैक्षिक परामर्श व्यवसायीले भने, ‘नक्कली अफर भएपनि चार बर्षको देखेपछि शिक्षा मन्त्रालयले सजिलै एनओसी दिने रहेछ ।’
यसरी सामान्य कलेजमा विद्यार्थी पठाएर झुक्याउने शैक्षिक कन्सल्टेन्सीहरुमा बानेश्वरको टिटि वर्ल्ड एजुकेशन कन्सल्टेन्सी, कुमारीपाटी ललितपुर र इटहरी सुनसरीको सेल्टा एजुकेशन, बागबजारको सिल्भर एजुकेशन, लगइन एजुकेशन कन्सल्टेन्सी, ब्राइट फ्युचर एजुकेशन कन्सल्टेन्सी लगायत रहेका छन् । उनीमध्ये धेरैले सियोजङ विश्वविद्यालयमा विद्यार्थी पठाउने गरेका छन् । शिक्षा मन्त्रालय अन्तरगतको एनओसी शाखाले यस विषयमा छानविन गर्दै गलत भएको भए एनओसी रद्ध गरेर कारवाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
कन्सल्टेन्सीले भने विश्वविद्यालयले नै ४ बर्षको अफर लेटर दिएको बताएका छन् । सिल्भर एजुकेशन फाउण्डेशका प्रबन्ध निर्देशक सन्तोष खनालले आफूहरुले नक्कली अफर लेटर नबनाएको बताए । ‘हामी सियोजोङ युनिभर्सिटीमा टिटी वल्र्डमार्फत काम गछौं । उसले नक्कली बनाएको भए हामीलाई थाह छैन ।’, कोरियामा रहेका सन्तोषले भने, ‘हाम्रा विद्यार्थी सियोजोङबाट पास आउट भइसकेका छन् । कसैले गुनासो गरेका छैनन् ।’ टिटी वल्र्डका संचालक विश्व खनालसँग भने सम्पर्क हुन सकेको छैन ।