अमेरिका र पाकिस्तानको रमाइलो खेल, भारतीय मुलका सौरभ बने सुपर हिरो
डालस – आईसीसी टी–२० विश्वकप २०२४ मा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराउँदै टी–२० विश्वकपमा विश्वमै सनसनी मच्चाएको छ । बायाँहाते तीव्र गतिका बलर भारतीय मुलका सौरभ नेत्रवालकरका कारण अमेरिकाले सुपर–८ को सम्भावना मजबुत बनाएको छ ।
पाकिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुबैमा अमेरिका हाबी बन्यो । सबै खेलाडीको योगदान त्यति नै महत्वपूर्ण भएपनि सुपर ओभरमा सौरभ हिरो बने । ग्राण्ड प्रेरी रंगशालामा १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो । पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरले १८ रन खर्चेका थिए । सुपर ओभरमा पहिलो बलमा आमिरले आरोन जोन्सलाई चौका दिए । त्यसपछि लगातार वाइड र कमजोर फिल्डिङको फाइदा उठाउँदै अमेरिकाले १८ रन जोडेको थियो ।
उक्त लक्ष्य बचाउन अमेरिकाले सौरभलाई ल्यायो । पाकिस्तानी मुलका अली खानसँग विदेशी फ्रेन्चाइज लिग खेलको अनुभव थियो । योर्कर र गती पनि त्यति नै राम्रो थियो । तर कप्तान मोनांक पटेलले सौरभलाई विश्वास गरे । इफ्तिखर अहमदलाई सौरभले अफ साइडको बल डट राख्दै सुरुवात गरे । दोस्रो बलमा इफ्तिखरले डीप मिड विकेटमा चौका हाने । उक्त चौकाको दबाबमा लगत्तै अर्को बल वाइड गर्न पुगे ।
उक्त वाइडपछि उनलाई अमेरिकी खेलाडीले सम्झाउन थालेका थिए । दर्शकदीर्घामा पाकिस्तानी समर्थकको बाहुल्यता थियो । अमेरिकी दर्शक पनि थिए । सौरभकी आमा पनि रंगशालामै छोराको खेल हेरिरहेकी थिइन् । त्यसपछि सौरभले तेस्रो बलमा इफ्तिखर अहमदलाई मिलिन्ड कुमारबाट क्याच गराउँदै जितको आधार तय जस्तै गराए । लगत्तै सादब खानलाई उनले वाइड गरे । चौथो बलमा चौका खर्चिए पनि आत्तिएनन् ।
पाकिस्तानलाई २ बलमा ९ रन चाहिएको थियो । पाँचौं बलमामात्रै दुई र अन्तिम बलमा एक रन दिँदै रोमाञ्चक र पाकिस्तानमाथि पहिलो पटक जित दिलाए । उनले सुपर ओभरमा १३ रन खर्चिएका थिए । सौरभ चम्किएर पाकिस्तानलाई हराएपछि भारतभर उनको जयजयकार भएको छ ।