पार्टी स्थापना देखि नै उपेन्द्रको एकछत्र राज, जसपाको अध्यक्षमा फेरि निर्बिरोध निर्वाचित
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्ष पदमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्। जनकपुरधाममा चलिरहेको महाधिवेशनबाट यादव निर्विरोध बनेका हुन्।
निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। जसमा अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन। मधेश प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा महाधिवेशन जारी छ।
पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन्।पार्टीको स्थापना कालदेखि नै जसपा नेपालभित्र यादवको विकल्प भेटिएको छैन। तर, यस महाधिवेशनबाट अध्यक्षबाहेक भने अन्य पदमा निर्वाचन हुन लागेको जनाइएको छ।