उत्तरपुस्तिका हराएको विषयमा गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न अखिल (समाजवादी) को माग
काठमाडौं – अखिल (समाजवादी)ले त्रिविको परीक्षा शाखावाट उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्चस्तरिय छानविन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सीले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलको नेतृत्वमा गठित उच्चस्तरिय छानविन समितिको प्रतिवेदन तथा निकालेको निश्कर्ष तत्काल सार्वजनिक गर्न माग गरेको हो ।
अखिल (समाजवादी)ले घटनाका दोशीहरुलाई तत्काल कडाभन्दा कडा कारवाही गर्न माग गर्दै गम्भिर गल्तीमा संलग्न कसैलाई पनि कुनैपनि बाहनामा बचाउने वा संरक्षण गर्ने विषय आफ्नो संगठनलाई स्वीकार्य नहुने चेतावनी दिएको छ । अखिल (समाजवादी)ले जारी गरेको विज्ञप्ति मार्फत नेपाली भाषामा पढाउने तर अंग्रेजी भाषामा मात्र प्रश्नपत्र छपाउने कुरा अवैज्ञानिक भएको उल्लेख गर्दै नेपाली भाषामा नै प्रश्नपत्र आउने वातावरण बनाउन समेत विशेष माग गरेको छ ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीको योजनामा प्रश्नपत्र हराएको आशंका गरिएको थियो । उनीको मिलमत्तोमा अहिले चलिरहेको बि.बि.एस चौथो बर्षको परीक्षा केन्द्र निर्धारणमा समेत चलेखेल भएको छ । ८ बर्षदेखि त्रिविको परीक्षा नियन्त्रक रहेका जोशीका कारण त्रिवि बदनाम बन्दै गएको छ ।
