उपेन्द्र यादबले केन्द्रीय समिति चयन नहुदै यसकारण गरे महाधिवेशन सम्पन्न भएको घोषणा
काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा)को एकता महाधिवेशन केन्द्रीय कमिटीको चयन नगर्दै बिहीबार सम्पन्न भएको छ । अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता भएर उम्मेदवारहरू प्रतिनिधिसँग मत माग्दै थिए । बिहीबार मतदान हुने कार्यतालिका थियो । तर, मतदान नगरी पदाधिकारी र केन्द्रीय सदस्य यादवले चयन गर्ने भन्दै सम्पन्न भएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा महाधिवेशन भइरहेको थियो । पार्टीको विधानअनुसार महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ सहित २ सय १ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य चयन गर्नुपर्ने हो । तर, उम्मेदवार बनेका नेताहरूको आन्तरिक सहमतिमै अध्यक्षले चयन गर्ने भन्दै जिम्मेवारी दिइएको छ ।
महाधिवेशनमा मुलुकभरबाट १ हजार १ सय ३५ प्रतिनिधि सहभागी थिए । उनीहरूको आफ्नो नेता आफैं चयन गर्ने अधिकार खोसिएको छ । अध्यक्षमा अरू कसैको उम्मेदवारी नपरेकाले सर्वसम्मत अध्यक्ष भएका यादवले केन्द्रीय कमिटीको टुंगो लगाउनेछन् ।
जसपा नेपालका नेता मनीष सुमनले उम्मेदवार भएका नेताहरूकै सहमतिमा यस्तो निर्णय भएको बताए । महासचिव पदमा उम्मेदवारी दिएका सुमनले भने, ‘यो हामी उम्मेदवारहरूको सहमतिमै भएको निर्णय हो, निर्वाचन गर्दा मनमुटाव बढ्ने, पार्टीलाई बलियो बनाउनुपर्ने भएकाले केन्द्रीय कमिटी चयनको जिम्मेवारी अध्यक्षजीलाई दिइएको हो, सबैको भावना र चाहना बुझेर उहाँले दुई–तीन दिनभित्रमा टुंगो लगाउनुहुन्छ ।’
बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी दर्ता भएको थियो । सहअध्यक्ष पदका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका थिए । यस्तै, पाँच उपाध्यक्षका लागि १७ पुरुष र ६ महिला गरी २३ जनाको उम्मेदवारी परेको छ । पुरुषतर्फ मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, आङदेन्डी शेर्पा, विद्युत बज्राचार्य, अर्जुन थापा, गोविन्द चौधरी, शिवलाल थापामगर, सरोजकुमार यादव, मोहम्मद खालिद, प्रकाश अधिकारी, बच्चा राउत अहिर, सुरेन्द्रप्रसाद कुर्मी, रामवचन अहिर यादव, मानध्वज बलोन, अमरेशनारायण झा, राजन केसी र सुमनकुमार चौधरी उम्मेदवार थिए ।