कति पर्यो नेपाल एग्रो र गणपति माइक्रोफाइनान्समा आइपीओ ?

बिहिबार, १२ बैशाख २०७६

काठमाडौं – नेपाल एग्रो लघुवित्त र गणपति माइक्रोफाइनान्सको आइपीओमा परेको आवेदनको फाइनल डाटा प्राप्त भएको छ । जस अनुसार नेपाल एग्रो लघुवित्तको आइपीओमा देशभरबाट ३ लाख २० हजार ८०४ आवेदकबाट ६५ लाख ४२ हजार ४४० कित्ता परेको छ भने गणपति माइक्रोफाइनान्समा ३ लाख २८ हजार ९६५ जनाले ६७ लाख ४७ हजार ९३० कित्ताका लागि आवेदन दिएका छन ।

यो हिसाबले गणपति माइक्रोफाइनान्सको आइपीओमा मागेभन्दा २१.५५ गुणा बढी आवेदन परेको छ । यसरी हेर्दा यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिनेमध्ये २ लाख ९७ हजार भन्दा बढी रित्तो हात हुनेछन् ।

यो कम्पनीको सेयर १० कित्ताको दरले कुल ३१ हजार ३०७ जनाले मात्र पाउनेछन् ।

बैशाख ९ गते सोमबारबाट यो कम्पनीले निश्कासन गरेको आइपीओमा छिटोमा बैशाख १२ गतेसम्म आवेदन दिने समय थियो । यो कम्पनीले प्रति शेयर रु. १०० अंकित दरको ३ लाख ३५ हजार कित्ता साधारण शेयर निश्कासन गरेको हो ।

उता, नेपाल एग्रो लघुवित्तको आइपीओमा ३ लाख २० हजार ८०४ जनाले ६५ लाख ४२ हजार ४४० कित्ता खरीदका लागि आवेदन दिएका छन् । यो भनेको मागको तुलनामा ४३.२७ गुणा बढी आवेदन हो ।

यो कम्पनीको आइपीओ खरीदका लागि आवेदन दिएकामध्ये १५ हजार १२० जनाले १० कित्ताको दरले सेयर पाउनेछन् । बाँकी ३ लाख ५ हजार ६०० भन्दा बढी आवेदकको हात रित्तो हुनेछ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निश्कासन गरेको थियो । कम्पनीले निश्कासन गरेको कुल कित्तामध्ये २ हजार ४८९ कम्पनीका कर्मचारीका लागि, ८ हजार ८९ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता मात्रै सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।