कार्यकर्ताप्रति एमाले बन्यो निर्मम, अध्यक्षलाई नै साधारण सदस्यसमेत नरहने गरी गर्यो कारबाही

शनिबार, २ असार २०८१

काठमाडौँ – नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापासहित ३ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बनमा परेका छन्।

नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीका अनुसार गत स्थानीय तह निर्वाचनमा एमालेतर्फबाट मेयरका उम्मेदवार समेत रहेका महानगर कमिटी अध्यक्ष सागर थापा, महानगर कमिटीका उपसचिव नवराज नेपाल र महानगर वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरिएको हो। विराटनगर महानगर ४ मा रहेको मानगढ खानेपानीको निर्वाचनको विषयलाई लिएर एमाले जिल्ला कमिटी मोरङले कार्वाही गरेको अध्यक्ष कार्कीले जानकारी दिए। मानगढ खानेपानीमा एमालेतर्फबाट राम घिमिरे उम्मेदवार रहेका थिए।

तर, पार्टी उम्मेदवारको विरुद्धमा अध्यक्षमा महानगर ३ का अध्यक्ष भट्टराईलाई महानगर कमिटी अध्यक्ष थापासहित अन्य नेताहरुले समर्थन गरेको आरोप रहेको छ।यसक्रममा अर्का एक युवा नेतालाई भने जिल्ला कमिटीले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।खानेपानी आयोजनाको अध्यक्षका लागि जेठ १९ गते निर्वाचन तोकिएको थियो ।