प्रचण्डका सत्ता सारथीहरु यसकारण कोहिपनि छैनन् सन्तुष्ट

आइतबार, ३ असार २०८१

काठमाडौं – जेठ १५ मा बजेट आएपश्चात् गठबन्धन दलभित्रै बजेटको विषयमा एकमत छैन । अर्थात् बजेट प्रचण्डको सहयात्रीहरूलाई मन परेको छैन । विशेषगरेर एमालेलाई यो बजेट पटक्कै मन परेको छैन । सरकारको बजेट बनाउने शैली, उल्लेख गरिएको नीति कार्यक्रम र छुट्याइएको आवश्यक रकमलाई सत्ताकै ठूलो घटक अध्यक्ष केपी शर्मा ओली पनि असन्तुष्ट छन् ।

शनिबार उनले संसदीय दलको बैठक राख्दै आफ्नो असन्तुष्टि जाहेर गरेका छन् । संसद्मा भएको बजेटमाथिको सामान्य छलफल र मन्त्रालयगत छलफलमा समेत एमाले सांसदहरूले कहीँ कतै बजेटको समर्थन गरेका छैनन् । एमाले नेताहरुले त वर्षमान पुनको बजेट हो कि सरकारको बजेट हो भन्दै प्रश्न गरिरहेका छन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाका शब्दमा, बजेट सत्ता सहकार्यमा रहेका सबै दलका विशेषताअनुरूप आउन सकेन । त्यसैले पनि अध्यक्षमात्र होइन सिङ्गो एमालेले सुझाव स्वरूप स्पष्ट शब्दमा आफ्नो विषय राखेको उनी बताउँछन् ।

“हामी संयुक्त सरकारमा छौं । एमाले यसको प्रमुख घटक हो । बजेट तथा नीति कार्यक्रम आउँदा संयुक्त सरकारको विशेषताअनुरुप साझा ढंगबाट आउँदा राम्रो हुन्छ भन्ने हाम्रो सुझाव हो,” उनले  भने ।

हुन पनि एमालेलाई बजेटमा प्रयुक्त माओवादीको ‘जनयुद्ध’ शब्दमा ठूलो आपत्ति छ । संविधानले नचिन्ने ‘जनयुद्ध’ शब्द र त्यसको नाममा बाँड्न लागिएको बजेटमा एमालेको आपत्ति छ ।

साथै आफूले भनेका कतिपय कार्यक्रम बजेटमा नसमेटिनु र एमाले नारा ‘समृद्ध नेपाल खुसी नेपाली’को सार्थकता नपाउने भयो भन्ने चिन्ता उसको छ । आफ्नो सरकारले अघि बढाएको कतिपय कार्यक्रममा कम र एकदमै न्यून बजेट परेको आभास एमालेलाई भएको छ ।

प्रमुख सचेतक बर्तौलाका अनुसार, सैद्धान्तिक रूपमा बजेटप्रति एमालेका सुझाव भएको र सांसदहरूले त्यही अनुसार सदनमा सुझाव राखेको धारणा राख्छन् ।

“समन्वय हुन सकेको भए कतिपय आयोजनाहरू सम्पन गर्ने र मुलुकमा आशा जगाउने गरी नयाँ कार्यक्रम दिन सक्ने गरी छलफल गर्न सकिन्थ्यो,” उनले भने ।

बजेटमात्र होइन सरकारको काम गराइमा समेत फरक मत राख्न थालेको छ, सत्ताकै अर्को घटक रास्वपाले । रास्वपाबाट युवा तथा खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठले गोजीमा राजीनामा बोकेर हिँडेको उल्लेख गरेपछि त झन् गठबन्धनको भविष्य कता जाँदैछ भन्ने प्रश्न थपियो ।

रास्वपालाई भय जनताको मूल्यांकनसँग देखिन्छ । किनभने रास्वपाले हिजो घोषणा गरेकै थियो, ‘हामीलाई सय दिनमात्र दिए सरकारमा कसरी काम हुन्छ, हामी देखाइदिन्छौं ?’ त्यो दल सरकारमा सहभागी भएको सय दिन पुगिसकेको छ ।