काठमाडौं किन भयो पेट्रोलियम पदार्थको अभाव ?

सोमबार, ४ असार २०८१

काठमाडौं – काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ। इन्धन पाइन छाडेपछि काठमाडौं उपत्यकामा पेट्रोल पम्पमा सवारी साधनका लाइन लागेका छन् ।

भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पलगायतका स्थानमा अहिले सवारीको ताँती नै देख्न सकिन्छ। निजी पेट्रोल पम्प भने आइतबारदेखि नै बन्द रहेका छन्। नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो।

चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन। नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन सुरू गरेको थियो। संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।

आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।ट्यांकर चालक मजदुरहरूको समस्या समाधान निम्ति विभिन्न निकायमा भन्दा पनि कुनै सुनुवाइ नभएकाले आफूहरू आन्दोलनमा ओर्लिएको उनीहरूको भनाइ छ।

‘माग सम्बोधन नभए नेपालभरका सबै ट्यांकर चालक मजदुरहरू बाध्य भई आफ्नो कामकारबाही छाडेर आन्दोलन गर्न बाध्य हुनेछौं,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।