अखिल समाजवादीले लगायो त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई कार्यालय प्रवेशमा रोक
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकलगायतका पदाधिकारीलाई सोमबारदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ । परिक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको घटनामा प्रत्यक्ष संलग्न पुष्पराज जोशीसहित ७ जनालाई कारवाहीको माग सहित कार्यालय प्रवेशमा रोक लगाईएको समाजवादीका अध्यक्ष नरेन्द्र सीले बताए ।
स्नातक तहका ५ सयभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न त्रिवि कार्यकारी परिषद्ले पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।
समितिले परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रक सुरेशजंग शाही र पवन बराललाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । छानबिन समिति स्रोतका अनुसार उनीहरू ३ जनालाई पदबाट हटाउनसमेत सुझाव दिइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका प्रशासन प्रमुख, सहप्रशासक भोजराज भट्ट र गोप्य शाखाका कर्मचारी उपप्रशासक निलम पोखरेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको थियो। उनीहरूले पदीय जिम्मेवारीअनुसार कर्तव्य पूरा नगरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट हटाउन प्रतिवेदनमा भनिएको छ ।
उत्तरपुस्तिका हराएको घटनामा बदमासी गरेको भन्दै गोप्य शाखाका शाखा अधिकृत शम्भु दाहाल र नायब सुब्बा दीपक पाण्डेलाई पनि कारबाही सिफारिस गरिएको छ । उनीहरूको लापरबाहीका कारण नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिकासँगै नष्ट गर्न पठाइएको छानबिन समितिले औंल्याएको छ ।
कार्यक्रममा मुख्य दोषी र संलग्न कर्मचारीहरुलाई कालोमोसो दलेर सार्वजनिक गर्ने तयारीका साथ परिक्षा नियन्त्रण कार्यालयमा प्रवेश गरेको समाजवादीको नेतृत्व दोषीहरु कार्यालयबाट भागेको भन्ने तथाहा पाएपछि कार्यालयमा बिभिन्न नारा अंकित ब्यानरसहित ७ जना दोषीको नाम नै किटान गरि धर्ना बसेको थियो। कार्यक्रममा अखिल समाजवादीका अध्यक्ष नरेन्द्र सी, उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी लगाएत सयौं विद्यार्थीहरुको सहभागीता रहेको थियो। कार्यक्रमलाई उपाध्यक्ष ललित सी, अध्यक्ष नरेन्द्र सी लगायतले सम्बोधन गरेका थिए।
