माओवादी केन्द्रको विशेष महाधिवेशनमा विप्लवसमेतलाई समेट्ने प्रचण्डको तयारी
काठमाडौँ – माओवादीले विशेष महाधिवेशनमा पूर्व माओवादीहरूलाई समेटेर लैजाने तयारी पनि गरेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट अलगिएको समूह माओवादीसँग एकताको प्रक्रियामा छ ।
माओवादीको चुनाव चिह्नबाट निर्वाचित महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठसहितका नेताहरूले यसअघि नै पार्टी एकताका लागि सहमति गरिसकेका छन् । उनीहरूसँगै रहेकाहरूलाई विशेष महाधिवेशनबाट समेटेर लैजाने तयारी भैरहेको पार्टी सचिव देवेन्द्र पौडेलले बताएका छन् ।
त्यस्तै, नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पनि एकताका लागि छलफल भइरहेको नेताहरू बताउँछन् । “पूर्व माओवादीहरूलाई समेटेर लैजान सकिन्छ कि भन्ने प्रयास भइरहेको छ । विप्लवजीहरूसँग पनि छलफल भइरहेकै छ,” पौडेलले भने ।