आरजुसहित यी शक्तिशाली तिन व्यक्ति जसका कारण ओली-देउवालाई आइलाग्यो सरकार नढाली नहुने बाध्यता
काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि ओली -देउवाको बेचैनीका कारण रातारात सरकार परिवर्तनको खेल भएको बताएका छन्। भ्रष्टाचारको फाइल खुल्न थालेपछि ती काण्डमा फसिने डरले नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका हुन् ।
उनले बेचन झा र प्रति थापा पक्राउ परेपछि ओली देउबालाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको भन्दै यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने सबैले बुझेकै कुरा भएको बताए।
‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्यो, फाइल खोल्नुपर्यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु ?!,’ उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले बेचैनीको अरू के अर्थ होला र ? भन्दै प्रतिप्रश्न गरे।
‘बेचैनीको अरू के अर्थ होला र ? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो यो सरकारलाई, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने यति पनि बुझ्न नसक्ने, सबैले बुझेकै कुरा हो। ठीक छ अहिले मलाई केही पनि भन्न छैन। संवैधानिक प्रक्रियाहरू सुरू होला। यस पछाडि अरू कुराहरू गर्ने छँदैछ,’ उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार बेचन झा पक्राउ परेका थिए। सोही प्रकरणमा त्यही दिन काठमाडौंको बौद्धबाट एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि पक्राउ परेका थिए।
टीकापुर जग्गा घोटालामा जोडेर नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई पक्राउ गर्न बुढानीलकण्ठको देउवा निवासमा प्रहरीले गरेको धरपकडको प्रयासले नेपाली कांग्रेस र एमालेलाई सत्ता सहकार्यको बाटो खुलाएकोसमेत पुष्टि भएको छ।
प्रहरी महानिरीक्षक वसन्त कुँवर विदेश भ्रमणमा रहेका बेलामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जनशक्ति परिचालन गरेर आरजुलाई देउवा निवासबाटै पक्राउ गर्न धरपकड गराएका थिए