आरजुलाई पक्राउ गर्न सिआईबीको टोली बूढानीलकण्ठ पुगेपछि…
काठमाडौं – टीकापुर जग्गा घोटालामा जोडेर नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई पक्राउ गर्न बुढानीलकण्ठको देउवा निवासमा प्रहरीले गरेको धरपकडको प्रयासले नेपाली कांग्रेस र एमालेलाई सत्ता सहकार्यको बाटो खुलाएको पुष्टि भएको छ।
प्रहरी महानिरीक्षक वसन्त कुँवर विदेश भ्रमणमा रहेका बेलामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जनशक्ति परिचालन गरेर आरजुलाई देउवा निवासबाटै पक्राउ गर्न धरपकड गराएका थिए।
प्रहरी, एमाले र नेपाली कांग्रेसका नेताहरूबाट प्राप्त जानकारी अनुसार त्यही धरपकडको प्रयासले नै कांग्रेस र एमाले नेतृत्वलाई सत्ता सहकार्यको सहमतिमा पुर्याएको देखियो। सीआईबीको टोली बुढानीलकण्ठमा गएर देउवाचोकदेखि देउवा निवाससम्मको सडक सिल गरेर घेराबन्दी गरेको थियो। आरजु घरमै रहेको सूचनाको आधारमा टोली पुगे पनि त्यो समयमा आरजु भने घरमा थिइनन्।
आरजु घरमा नभएको पक्का भएपछि सीआईबीको टोली रित्तै फर्कियो। पक्राउ गर्न प्रहरी टोली आएको सूचना पाए लगत्तै आरजुले केपी ओलीसँग भेट्न समय लिएर असार १५ मा पार्टी सभापति शेरबहादुर देउवासहित लिएर गइन्।
दुई घण्टा बढी समय भएको छलफलमा प्रचण्ड नेतृत्वको सरकार बदल्ने र आलोपालो नेतृत्व गर्ने सहमति भयो। सहमति अनुसार सोमबार मध्यरात दुवै दलका शीर्ष नेताहरूबीच सहमति भइसक्यो। छलफलबाट सहमतिसम्मको वातावरण बन्नुको प्रमुख कारण प्रहरीको धरपकड प्रयास नै देखियो।
टीकापुर जग्गा अनियमितताबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ। सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानका लागि सीआईबीको एक टोली टिकापुरमै बसेको छ।