दक्षिण कोरियाली दूतावासको वेवसाइट ह्याक गर्ने ८ जना पक्राउ
काठमाडौं – दक्षिण कोरियाली दूतावासको वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । वेबसाइट ह्याक गरेर सेवाग्राहीसँग अवैध रूपमा रकम असुलमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यरो (सिआईबी)को टोलीले विभिन्न ठाउँबाट ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेको नाम खुलाइएको छैन । बिचौलियाहरूले वेबसाइट नै ह्याक गरेर सेवाग्राहीबाट भिसाको डेट लिइदिएबापत प्रतिव्यक्ति १० हजारदेखि ४० हजारसम्म लिने गरेको पाइएपछि सिआईबीले छापा मारेर ८ जना बिचौलियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक होविन्द्र बोगटीका अनुसार वेबसाइट ह्याक गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको छ । ‘तपाईंलाई नाम त म अहिले भन्न सक्दिन, बाहिर छु । तर ८ जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’, मोटिभेट न्यूजसँगको टेलिफोन संवादमा बोगटीले भने ।
दक्षिण कोरियाली दूतावासका अधिकारीहरू सीआईबीमा पुगेर दूतावासको बदनाम हुने गरी बिचौलिया हाबी भएकाले कारबाही गर्न लिखित अनुरोध गरेका थिए । अध्ययनका लागि कोरिया जाने विद्यार्थीको भिड बढेपछि दूतावासले समय व्यवस्थापन गर्न सकिरहेको थिएन । विश्वविद्यालयले दिएको कोटाभन्दा बढी विद्यार्थीहरुले भिसा एप्लाई गर्न खोजेपछि दूतावासको वेबसाइडमा धेरै चाप परेको थियो ।
त्यही चापका कारण बिचौलियाले वेबसाइट नै ह्याक गरेर बेचेका थिए । प्रहरीले उनीहरूविरुद्ध साइबर अपराध र ठगी मुद्दामा कारबाही अघि बढाए जनाएको छ । पक्राउ पर्नेमा दूतावास अगाडिको गोर्खा रेष्टुरेन्ट एण्ड बारका मालिकसहित शैक्षिक कन्सल्टेन्सीका संचालक रहेको आशंका गरिएको छ ।