बागमतीको मुख्यमन्त्री बन्न कांग्रेस दुई नेताबिच दौडधुप
काठमाडौं – बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि माओवादी केन्द्रका नेता तथा मूख्यमन्त्री शालिकराम जम्ककट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ । सोमबार एमाले सरकारबाट बाहिरिनु अघि नै कांग्रेसभित्र भावी मुख्यमन्त्री को हुने भन्ने रस्साकसी सुरु भइसकेको थियो ।
केन्द्रमा भएको सहमति अनुसार कांग्रेसले बागमतीको मुख्यमन्त्री प्राप्त गर्ने भएसँगै संसदीय दलका नेता बहादुरसिंह लामा र प्रदेश सभापति इन्द्र बानियाँको सक्रियता बढेको छ । लामा र बानियाँले मुख्यमन्त्रीको अपेक्षा राखेर दौडधुप र लबिङ बढाएका छन् । कांग्रेसको प्रदेश सभा संसदीय दलको विधान अनुसार पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्थामा संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्था छ ।
कांग्रेसले सरकार बनाउने अवस्था आएमा संसदीय दलका नेता लामाले निर्विकल्प सरकारको नेतृत्व गर्नेछन् । तर, बागमतीमा कांग्रेसभित्र देखिएको पछिल्लो परिस्थितिले पार्टीबाट निर्विवाद मुख्यमन्त्री बन्न भने लामालाई सहज देखिएको छैन । संसदीय दलको विधान अनुसार सरकारको नेतृत्व गर्दा मुख्यमन्त्री बहादुरसिंह लामा नै हुने उनी पक्षीय सांसदहरुको दाबी छ ।
तर, संविधानको आधार देखाएर मुख्यमन्त्रीको आकांक्षीमा प्रदेश सभापति बानियाँ पनि देखिएका छन् । संविधानको धारा १६८ (२) अनुसार बानियाँ मुख्यमन्त्री बन्नसक्ने आधार रहेको उनी पक्षीय प्रदेश सांसदहरुको जिकिर छ । संविधानको उक्त व्यवस्थामा ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने’ उल्लेख छ ।
प्रदेशमा यही धारा अन्तर्गत रहेर सरकार निर्माण भइरहेको छ । संविधानको धारा १६८ (२) ले संसदीय दलको नेता बाहेक अर्को व्यक्ति पनि मुख्यमन्त्री हुनसक्ने आधार रहेको बानियाँ पक्षका सांसदको तर्क छ ।