सत्ता गुमेपछि प्रचण्डको बल्ल खुल्यो चेत
काठमाडौं – सत्ताबाट करिब ९ वर्षपछि संघदेखि प्रदेशसम्म प्रतिपक्षमा हुत्तिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीलाई चलायमान बनाउनमा केन्द्रित भएका छन् । प्रतिनिधिसभाका दुई ठूला दल कांग्रेस एमाले मिलेपछि सत्ता बाहिर पुगेका उनी पार्टीलाई सशक्त बनाउने अभियानमा केन्द्रित भएका हुन् ।
यसअघि अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सत्ता केन्द्रित हुँदा पार्टी निष्क्रिय भएको आरोप लाग्ने गरेको थियो । अहिले माओवादी केन्द्रभित्र वर्तमान परिस्थिति र पार्टी निर्माण सम्बन्धमा गम्भीर बहस भइरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको कमजोरी, विचारको विकास, पार्टी निर्माणमा आगामी योजनाबारे गम्भीर समीक्षा भइरहेको एक नेताले बताए ।
असार १७ गते दुई ठुला दल कांग्रेस र एमाले मिलेर माओवादी नेतृत्वको सरकार ढाल्नेदेखि संविधान संशोधनको मुद्दा अगाडि बढाउनेसम्म ७ बुँदे सहमति गरेका थिए । सोही सहमतिको जगमा अहिले एमालेका अध्यक्ष केपी शर्मा ओली दुई तिहाइ मतसहित प्रधानमन्त्री भएका छन् । २०७२ सालमा संविधान जारी भएपछि कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर सत्ता लाभ लिएको माओवादी १० वर्षपछि प्रतिपक्षमा पुगेको हो ।
प्रचण्डले पनि माओवादी अब सरकारमा जाने भन्दा जनतामा जाने र पार्टीलाई एकताबद्ध, सुदृढ बनाउनमा ध्यान केन्द्रित हुने बताएका छन् । ‘यो गठबन्धनले बढो अमूर्त ढङ्गले बनेको छ जनताले त्यसलाई बुझिरहेका छन् । विगतको इतिहास पनि छ । घटनाक्रम पनि छ,’ उनले भने, ‘संविधान मिच्ने, समावेशी, समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई उल्ट्याउने, सङ्घीयतालाई परिमार्जित गर्ने होइन त्यसलाई पनि पछि हटाउने खतरा छ ।’
प्रचण्डले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्त्वपूर्ण समयमा तपाईँहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ ।’