अस्ट्रेलियाको टोरेन्स विश्वविद्यालयमाथि गोप्य अनुसन्धान, विद्यार्थी ठगेको आरोप
काठमाडौं – अस्ट्रेलियाको टोरेन्स विश्वविद्यालय अस्ट्रेलियन सरकारको उच्च निगरानीमा परेको छ । विदेशी विद्यार्थीहरूलाई ठगेको, नियम विपरित विदेशी विद्यार्थी भर्ना गरेको, नक्कली कागजात भएका विद्यार्थी भर्ना गरेको, कम अंग्रेजी मापदण्ड भएका विद्यार्थीलाई भर्ना गरिरहेको र गैरकानुनी रुपमा विश्वविद्यालय परिवर्तन गरेको उजुरी पछि अस्ट्रेलियाको उच्च शिक्षा पर्यवेक्षकले गोप्य रुपमा अनुसन्धान थालेको छ ।
दी सिड्नी मर्निङ हिल्डका अनुसार उच्च शिक्षाको लागि अष्ट्रेलियाको स्वतन्त्र गुणस्तर मापन तथा नियामक निकाय Tertiary Education Quality and Standards Agency (TEQSA) ले टोरेन्स विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना र यसको भर्नामा देखिएको अस्वभाविक बृद्धिबाट छानबिन थालिएको हो । उत्तरी भारतको हरियाणा राज्यबाट एप्लाई गरेका अधिकांश विद्यार्थीहरुको कागजात नक्कली भएको पाइएपछि यो विश्वविद्यालय अनुसन्धानमा तानिएको बताइएको छ ।
TEQSA ले टोरेन्स विश्वविद्यालयको दर्ता खारेजका लागि सिफारिस गर्न सक्ने छ । सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडमा क्याम्पस भएको टोरेन्समा २०२२ देखि १२ वटा उजुरी परेको थियो । उजुरीकर्ताहरूले लगाएका आरोपहरूमध्ये टोरेन्सले शिक्षा एजेन्टहरूलाई ठूलो मात्रामा कमिसन दिएर विद्यार्थीलाई विश्वविद्यालय परिवर्तन गर्न बाध्य पार्ने गरेको छ । श्रोतले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विश्वविद्यालय परिवर्तन गरेबापत ३५ प्रतिशतसम्म कमिसन दिने गरेको खुलेको छ ।
नेपाली विद्यार्थीहरुलाई एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस् र ग्रेस इन्टरनेशनलले सबैभन्दा धेरै फकाई फुलाई टोरेन्समा भर्ना गरेका थिए । ‘टोरेन्सका एजेन्टहरू अनैतिक व्यवहारमा संलग्न थिए । उनीहरुले विद्यार्थीलाई ट्युसन फिसमा भारी छुट हुने, अन्य सेवा सुविधाहरु सजिलै प्राप्त गर्न सकिने लगायतका प्रलोभन देखाएर विद्यार्थी भर्ना गर्न लगाएका थिए ।’, श्रोतले भन्यो, ‘TEQSA ले थाहा पाएपछि गोप्य रुपमा अनुसन्धान गरेको छ ।’
विश्वविद्यालयले नक्कली कागजात भएका विद्यार्थी भर्ना नगरौं भन्दा एक कर्मचारीलाई बर्खास्त गरेको थियो । विशेष गरी लाओस, केन्या, घाना र नेपाल जस्ता देशहरूबाट नक्कली कागजातसहित भर्ना गरेको पाइएको थियो । यो विश्वविद्यालय अस्ट्रेलियामा भएका ४० वटा विश्वविद्यालयमध्ये ४० औं स्थानमा छ भने विश्व र्याङ्किङमा पनि पुछारमा छ । अस्ट्रेलियाको इन्भेस्टमेन्ट कम्पनीको लगानी रहेको यो विश्वविद्यालयले शैक्षिक गुणस्तरभन्दा पनि नाफालाई प्राथमिकतामा राख्दा समस्या भएको बताइएको छ ।