माओवादी अन्तर्विरोध सतहमै छताछुल्ल

सोमबार, ३ भाद्र २०८१

काठमाडौँ – नेकपा माओवादी केन्द्रभित्र देखिएको अन्तर्विरोध विशेष महाधिवेशनबाट समाधान गर्न प्रदेशका अध्यक्षहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा साउन २५ देखि ३० गतेसम्म बसेको पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले १४ बुँदे लिखित प्रस्ताव पेस गरेका थिए । नेतृत्वको तीन विकल्पसँगै पार्टी निर्माणका आधार समेटेर प्रस्ताव पेस गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शर्माबिचको मतभेद सार्वजनिक रूपमा छताछुल्ल भएको थियो ।

तर आन्तरिक अन्तर्विरोध स्थायी रूपमा विशेष महाधिवेशनबाट टुङ्ग्याउनुपर्नेमा प्रदेश अध्यक्षहरूले सुझाव दिएका हुन् । पार्टीको तल्ला तहबाट आएका सुझाव समेट्नका लागि भदौ महिनाभरि माओवादीले प्रदेशस्तरीय परामर्श समितिको बैठक बोलाएको छ । प्रदेशस्तरीय बैठकबाट आएका सुझाव समेटेर आगामी असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत पार्टीले गरेको छ ।

केन्द्रीय समिति बैठकले समस्या समाधानको खाका तयार गरे पनि आन्तरिक मतभेदको स्थायी समाधान हुनेमा प्रदेशस्तरीय नेताहरूले आशङ्का गरेका छन् ।