जापानीज भाषा परीक्षा ‘जे–सर्ट’को प्रश्नपत्र बाहिरियो, फेरि परीक्षा गर्न माग
काठमाडौं – जापानीज भाषा परीक्षा ‘जे–सर्ट’को प्रश्नपत्र बाहिरिएपछि हंगामा भएको छ । अगस्ट ३१ तारिखका दिन भएको सर्टिफिकेट अफ जापानीज एज फरेन ल्याङ्ग्वेज (जे–सर्ट)को परीक्षाको प्रश्नपत्र बाहिरिए पछि हंगामा भएको हो । विद्यार्थी, शैक्षिक परामर्श व्यवसायी र सरोकारवालाले ३१ तारिखको परीक्षा रद्द गरेर पुनः परीक्षा लिन माग गरेका छन् ।
देशभर चलेको जे–सर्टको परीक्षामा ६ हजारभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए । चितवनमा भएको परीक्षामा परीक्षा सुरु भएको १० मिनेटमै विद्यार्थीहरुले उत्तर पुस्तिका बुझाएपछि यसको रहस्य खुलेको थियो । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि यो टेस्टको विश्वसनियतामाथि प्रश्न उठेको छ । निकै गोप्य रुपमा परीक्षा केन्द्रसम्म पुग्नुपर्ने प्रश्नपत्र अघिल्लो दिन शुक्रबार बुटवलबाट बाहिरिएको थियो । अघिल्लो दिन हात परेको प्रश्नपत्र हुवहु आएपछि विद्यार्थीले सटासट टिक लगाएर १० मिनेटमै उत्तर पुस्तिका बुझाएका थिए ।
यसरी प्रश्नपत्र लिक हुनुमा शैक्षिक कन्सल्टेन्सी र परीक्षा केन्द्र संचालकहरु दोशी देखिएका छन् । होङ्स नामक कम्पनीले चितवन इक्यानसँगको सहकार्यमा परीक्षा लिने गरेको छ । जे–सर्टको केन्द्रीय कार्यालय जापानमा छ । नेपालमा इन्टरनेशनल टेस्ट सेन्टर (आईटीसी)ले अन्य कम्पनीहरुको सहकार्यमा परीक्षा संचालन गर्ने गरेको छ । यसलाई स्पेस फोर के टेलिभिजनका अध्यक्षसमेत रहेका दिनेश शाहीले नेतृत्व गरिरहेका छन् ।
चितवनको नेपाल पोलिटेक्निक इन्स्टियुट (एनपीआई) केन्द्रमा भएको परीक्षामा सहभागी विद्यार्थीले अघिल्लो दिनमा नै प्रश्नपत्र पाएको बुझिएको छ । परीक्षा केन्द्रको कोठा नम्बर ३०२, ३०३, ३०८, ३०९ र ३१० का विद्यार्थीले परीक्षाको सुरु भएको १० मिनेटमा नै उत्तर पुस्तिका बुझाएका थिए । इक्यानको तर्फबाट नक्कली डकुमेन्ट बनाउने धन्दा चलाइरहेका इक्यान चितवनका उपाध्यक्ष प्रज्वल पौडेलले नेतृत्व गरिरहेका छन् ।
होङ्सका संचालक महेश श्रेष्ठले प्रश्नपत्र लिक भएको स्वीकारेका छन् । उनले परीक्षाभन्दा अगावै कसरी प्रश्नपत्र लिक भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको उनको भनाई छ । ‘हामीले अरु त केही होइन, लिस्निङ सकिएकै छैन, विद्यार्थी उत्तरपुस्तिका बुझाउन आए । उनीहरुले बुझाएको उत्तरपुस्तिकामा उत्तर पनि मिलेको छ ।’, श्रेष्ठले भने, ‘यस्तो कसरी हुन्छ भनेर ५ जना विद्यार्थीलाई नियन्त्रणका लिएर अनुसन्धान गरेका थियौं । उनीहरुले म्यासेन्जर ग्रुपमा पश्नपत्र फेला पारेको भनेका थिए ।’
टेस्ट परीक्षा संचालक, परीक्षा केन्द्र संचालक र शैक्षिक कन्सल्टेन्सी संचालक एकै जना भएकाले परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको चितवनको एक प्रतिष्ठित शैक्षिक परामर्श व्यवसायीले बताए । टेस्ट संचालक दिनेश शाहीको एमटि. रोयल एजुकेशन छ भने चितवन, पोखरा, इटहरी र झापामा टेस्ट संचालन गर्ने होङ्सका संचालक महेश श्रेष्ठको हार्डफोर्ड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी रहेको छ ।
पोखरामा परीक्षाको जिम्मा लिएका कर्ण गुरुङको नमस्ते एजुकेशन कन्सल्टेन्सी रहेको छ भने चितवनमा परीक्षा संचालनको जिम्मा पाएका प्रज्वलको आकारुई एजुकेशन कन्सल्टेन्सी रहेको छ । प्रश्नपत्र बाहिरिएको भनिएको बुटवलको परीक्षाको जिम्मा ओमप्रकाश श्रेष्ठले लिएका छन् । उनको पनि मनिग्राममा स्काईलाईन एजुकेशन कन्सल्टेन्सी रहेको छ । आफ्ना विद्यार्थीले राम्रो स्कोर ल्याउन् भनेर शैक्षिक कन्सल्टेन्सीले प्रश्नपत्र लिक गर्ने गरेको श्रोतको भनाई छ ।
प्रश्नपत्र लिक भएको विषयमा परीक्षा संचालकले भने छानविनका लागि कुनै पनि प्रक्रिया अगाडि बढाएका छैनन् । आफै फस्ने डरले उनीहरुले यस विषयमा सोचेका पनि छैनन् । परीक्षा संचालक होङ्सका मालिक महेश श्रेष्ठले आफूहरु यो विषयको छानविनका लागि राज्यका निकायमा नजाने बताए । ‘अनुसन्धानका लागि राज्यका निकाय गुहार्नु पर्ने त हो । तर हामी आफै संचालक रहेको, परीक्षा केन्द्रसम्म प्रश्नपत्र लिने हामी आफै भएकाले आफैलाई अनुसन्धान गर भन्नु राम्रो हुँदैन होला ।’, उनले भने ।
‘नेपालमा चल्ने टेस्ट परीक्षाको विश्वसनियता छैन । एउटा शैक्षिक परामर्श व्यवसायीले टेस्ट पनि चलाएको छ, कन्सल्टेन्सी पनि चलाएको छ । आफ्नो विद्यार्थीका लागि उनीहरुले सेटिङमा प्रश्नपत्र लिक गर्ने, उत्तरपुस्तिका साट्ने र त्यति गर्दा पनि नभए अन्तिममा आएर उनीहरुले रिजल्टमै तलमाथि गरिदिने सम्मको हर्कत गरेका छन् ।’, चितवनका प्रतिष्ठित एक व्यवसायीले भने, ‘उनीहरुको टेस्टहरुले विद्यार्थीलाई सजिलो गराएको त छ, तर समस्या पनि धेरै ल्याएर आएको छ ।’
नेपालमा जापानीज भाषा परीक्षा लिने ८ वटा संस्था कृयाशील छन् । जसमध्ये दुई वटा जापानीज दुतावासकै निगरानीमा संचालन हुन्छन् भने अरु ६ वटा व्यक्तिगत रुपमा संचालित छन् । यी ६ वटा संस्था कुनैले पनि परीक्षा संचालनको स्वीकृत लिएका छैनन् । टेस्ट परीक्षा संचालनको स्वीकृति नपाएपछि परीक्षा शुल्कबापत उठाएको रकम जापान पुग्न गैरकानूनी बाटो अपनाउने गरिएको छ । एउटा परीक्षा दिन विद्यार्थीले ४ हजार ५ सय नेपाली रुपैयाँ तिर्नुपर्छ । यसमध्येको ४५ प्रतिशत रुपैयाँ गैरकानुनी च्यानलबाट जापान पुग्ने गरेको छ । बर्षमा ५० हजारभन्दा धेरै विद्यार्थीले परीक्षा दिने गरेका छन् ।