प्रहरीको नक्कली सई बनेर १६ जिल्लामा ठगि आतंक मच्चाउने २ जना पक्राउ
काठमाडौँ – नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको ‘सई हुँ’ भन्दै ठगीधन्दा मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुराँस गाउँपालिका–६, का २७ वर्षीय विकास बिसी र बाँकेको राप्ति सोनारी गाउँपालिका–७, लालपुरका ३६ वर्षीय लोकबहादुर खाण रहेका छन् । उनीहरुले ‘प्रहरीको सई हुँ’ भन्दै विभिन्न जिल्लाका व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरेको पाइएको छ । लामो अनुसन्धानपछि प्रहरीले बिसीलाई भदौ ३ गते बेलुकी उनकै गाउँबाट पक्राउ गर्न सफल भएको थियो भने खाणलाई भदौ १८ गते राती सुर्खेतको लेकबेशी नगरपालिका–२, को दशरथपुरबाट दैलेख प्रहरीले पक्राउ गरेको हो ।
खाणलाई पक्राउ गर्नका लागि दैलेख प्रहरीको समन्वयमा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीका अनुसार अहिलेसम्मको अनुसन्धानबाट दुईजनाले १८ जनालाई ठगेको खुलेको छ ।
ठगिनेमा दैलेख, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके गरी १६ जिल्लाका रहेका छन् ।