आजदेखि ३ दिनसम्म लगातार हावाहुरीसहित भिषण वर्षा हुने, यी ८ जिल्ला उच्च जोखिममा

बिहिबार, २७ भाद्र २०८१

काठमाडौँ – बिहीबार साँझदेखि पानी पार्ने प्रणाली थप सक्रिय हुने भएकाले भदौ २९ गते बिहानसम्म सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकमा अपिल गरेको छ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहे पनि भारतको मध्यप्रदेश आसपास अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर ९नेपाल नजिक० सर्ने सम्भावना छ। जसका कारण भदौ २७ गते  साँझदेखि २९ गते बिहानसम्म विशेषगरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना छ।

यस अवधि ९भदौ २७ साँझदेखि २९ बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

मौसम महाशाखाको विशेष बुलेटिनअनुसार उक्त अवधिमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।

सो सम्भावित वर्षाका कारण जिल्लागत हिसाबले कुनमा कति जोखिम छ भन्ने विषयमा मौसम महाशाखाले सूची सार्वजनिक गरेको छ। जसअनुसार आठ जिल्ला-बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम वर्षाको उच्च जोखिममा छन्।