नेपालमा विद्यार्थी ठग्दै बंगालदेशी कम्पनी ‘AHZ एसोसिएट्स’

शनिबार, २९ भाद्र २०८१

काठमाडौं – बंगलादेशी कम्पनी ahz associates nepal ले नेपाली विद्यार्थीलाई ठग्ने गरेको पाइएको छ । बेलायतमा केन्द्रीय कार्यालय रहेको बंगलादेशी कम्पनी ahz associates ले नेपाली विद्यार्थीलाई भिसा आवेदनका लागि आवश्यक प्रक्रिया पुरा हुनभन्दा अगाडि नै विश्वविद्यालयमा ट्युसन फि तिर्न लगाएर ठगी गर्ने गरेको पाइएको हो ।

विश्वविद्यालयको अन्तरवार्ता भन्दा पहिला नै विद्यार्थीलाई विश्वविद्यालयको खातामा पैसा जम्मा गर्न लगाउने र अन्तरवार्तामा फेल गराउने गरेको पीडित विद्यार्थीको भनाई छ । ‘मेरो आयल्समा राम्रो छ । एकेडेमिक पनि पुगेको छ । कोभेन्ट्री विश्वविद्यालयमा अध्ययन गर्नका लागि जाने खोजेको, कन्सल्टेन्सीका कारण ठगीएँ ।’, पुतलीसडकको अर्को एक कन्सल्टेन्सीमा परामर्शका लागि पुगेका एक विद्यार्थीले भने, ‘ट्युसन फि पठाएपछि अन्तरवार्तामा पास गराउँछ भन्दै फकाएर पहिला ट्युसन फि तिर्न लगायो । अहिले अन्तरवार्ता फेल भएपछि मेरो करिअर सकियो ।’

कन्सल्टेन्सीले विश्वविद्यालयमा पैसा पठाउँदा ढुक्क हुने भएकाले अन्तरवार्तामा पास गराइदिने गरेको नाम उल्लेख नगर्ने सर्तमा ति विद्यार्थीले भने । ट्युसन फि छिटो पठाउँदा कमिसन छिटो पाइने लोभमा कन्सल्टेन्सीले धन्दा चलाउने गरेको एक शैक्षिक परामर्श व्यवसायीले बताए । विद्यार्थीको भविश्य नहेरी पैसा मात्र कमाउन खोज्दा विद्यार्थी ठगीने गरेको उनको भनाई छ । नेपालबाट युकेका विश्वविद्यालयमा पठाएको ट्युसन फि फिर्ता हुन करिब १ बर्ष समय लाग्ने गरेको छ । ट्युसन फि फिर्ता नहुँदासम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयल अन्तरगतको एनओसी शाखाले अर्को एनओसी दिदैन । अर्को एनओसी नबन्दा विद्यार्थीले अर्को देशमा भिसा एप्लाई गर्न पाउँदैनन् ।

यता कन्सल्टेन्सीले भने विद्यार्थीलाई पहिला नै ट्युसन फि नतिराएको जनाएको छ । एएचजेड नयाँ बानेश्वरका म्यानेजर रिसभ गौतमले मोटिभेट न्यूजसँगको कुराकानीमा आफूले पहिला ट्युसन फि नतिराएको बताए । ‘रोशनी तामाङ (नाम परिवर्तन)को भन्नुभयो होला होइन् ? उनी हाइकमिसनको अन्तरवार्तामा फालिएकी हुन् ।’, तपाईंले विश्वविद्यालयको अन्तरवार्ताभन्दा पहिलो ट्युसन फि पठाउन लगाउनु हुँदोरहेछ नी भन्ने मोटिभेट न्यूजको प्रश्नमा उनले भने, ‘उ हाईकमिसनको इन्टरभ्युमा फालिएको हो । हामीले विश्वविद्यालयको भन्दा पहिला ट्यसन फि हाल्न लगाएका छैनौं । हाइकमिसनको अन्तरवार्तामा बोल्न नसक्दा उनको भिसा नलागेको हो ।’ ‘एउटा मात्र होइन् थुप्रै विद्यार्थीहरु सम्पर्कमा आएका छन् नी ?’ भनेर प्रश्न गर्दा उनले यस विषयमा भेटेर कुरा गर्न चाहेको बताए ।

बेलायत अध्ययनका लागि विश्वविद्यालयले लिने अन्तरवार्ता पास भएपछि मात्र विश्वविद्यालयलाई ट्युसन फि पठाउनु पर्ने हुन्छ । ट्युसन फि पठाएको केही दिनमा विश्वविद्यालयले कास लेटर पठाउने गरेको छ । तर यो कन्सल्टेन्सीको बानेश्वर र पुतलीसडक ब्रान्चले विश्वविद्यालयको अन्तरवार्ताभन्दा पहिला नै ट्युसन फि पठाउन लगाएर विद्यार्थीको भविश्य बर्वाद बनाउने गरेको छ ।

यो कन्सल्टेन्सी नेपालको कुनै पनि निकायमा दर्ता नभएको सूचनाहरु प्राप्त भएका छन् । बंगलादेशी नागरिक जहिरुल स्लामको लगानी रहेको यो कम्पनीले विश्वका विभिन्न देशमा शाखा खोलेर विद्यार्थी ठगीरहेको छ । यस्तै काण्डमा कारण नेपालमा बन्द भएको यो कम्पनी केही बर्षअघि मात्र फेरि खुलेको थियो । बेलायतमा पनि यसले थुप्रै काण्डहरु मच्चाउने गरेको छ ।