सुदुरपश्चिममा आज बुढी पोल्ने पर्व

मंगलबार, १ असोज २०८१

काठमाडौँ –  सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज संक्रान्तिमा बुढी पोल्ने पर्व मनाइने प्रचलन छ । डडेल्धुरालगायत सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा यो पर्व धुमधामका साथ मनाइँदै आएको छ । राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको दिनको सम्झनामा भाद्र मसान्तका दिनमा लिंगो ठढाई बारिएको बन्ढुनी अर्थात् बुढीलाई असोज संक्रान्तिका बेलुकी पोलेर बन्ढुनी पर्व मनाइन्छ ।

यहाँका सबै गाउवस्तिहरुमा यस दिन बुढी पोलेपछि देउडा खेल खेल्ने परम्परा रहिआएको छ । यस पर्वमा गाई बस्तुको हेरचाह गर्ने गोठला तथा स्थानियहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वका दिन सल्ला, बाँझको लिङगो ठड्याई रुखहरु, रुखका हाँगाहरु काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान श्री कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा यो पर्व मनाउने धार्मीक बिश्वास रहेको छ ।