डोटीबाट निर्वाचित सांसद आलेको उद्घोष – ‘कांग्रेसका साथीहरुलाई एमजीट खुवाएर वीपीनगर घुमाउँछु’
वैशाख २३,काठमाडौं . नेकपाका नेता तथा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेले सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम समय सान्दर्भिक र विकासका लागि कोेशेढुंगा सरह भएको बताएका छन् ।
सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा बोल्दै आलेले वर्तमान ओली नेतृत्वको सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानलाई पूरा गर्न लागिरहेको बताए ।
गत वर्षको नीति तथा कार्यक्रममा सरकारले संविधान कार्यान्वयनप्रतिको प्रतिवद्धता, आफ्नो राजनैतिक आदर्श तथा कार्यदिशा र नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न स्पष्ट राष्ट्रिय खाकासहितको रणनीति र कार्यनीति बनाएकै कारण धेरै उपलब्धि हासिल भएको उल्लेख गरे । समृद्ध नेपाल बनाउने भिजन बोकेको यो सरकारले नेपालमा लगानी सम्मेलन गरेर धेरै परियोजनाहरुमा विदेशी लगानीकर्ताले लगानी गर्ने प्रतिवद्धता गर्नुलाई धेरै महत्वपूर्ण काम मान्न सकिने बताए ।
यसैगरी सरकारले सामाजिक सुरक्षा योजना लागू गरेको, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगारलाई रोजगार दिएको, जापान र मलेसियासँग श्रम सम्झौता गरेर नेपाली कामदारको सेवासुविधा र सुरक्षालाई प्राथमिकता दिनुले पनि सरकार आफ्ना नागरिकप्रति इमान्दार भएको पुष्टि भएको उनले बताए । कम्युनिष्ट सरकारले जेष्ठ नागरिकप्रतिको आफ्नो दायित्वलाई राम्ररी बुझैकै कारण जेष्ठ नागरिक बिमा योजना सुरु गरेको दावी गर्दै आगामी ४ वर्षमा नेपालका सबै गाउँपालिकाका सडकहरु कालोपत्रे गर्नेजस्ता अत्यन्त लोकप्रिय र जनप्रिय काम गरेको जस्ता विकासका काम गरेको बताए ।
सरकारले विकास निर्माणको कामलाई तीब्रता दिएकोले आगामी वर्ष नेपालको अहिलेसम्मकै आर्थिक विकास दर उच्च हुने उनले दावी गरे । सरकारले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई सन् २०१९ सम्म सम्पन्न गरी सञ्चालन गर्ने, सन् २०२१ सम्म पोखरा क्षेत्रीय विमानस्थललाई सञ्चालनमा ल्याउने, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने जस्ता दुरगामी फाइदा हुने महत्वपूर्ण कामहरु गरेको बताए । आगामी वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको आफ्नै पानीजहाज किन्ने, चीन र भारतसँग मिलेर पूर्वदेखि पश्चिमसम्म रेलमार्ग विस्तार गर्ने, तराईका समथर जमिनमा सिंचाई गर्न सुरुङमार्फत पानी लाने महत्वकांक्षी योजनाहरु अघि बढाउँदा नेपाली कांग्रेसका नेताहरु हावादारी गफ भन्थे तर अहिले यस्ता योजनाहरु कार्यान्वयन भइसकेका छन् । यसबाट पनि केपी ओली दुरदर्शी राजनेता हुन् भन्ने पुष्टि भएको उनले बताए ।
केपी ओली सरकार दृढ इच्छाशक्ति बोकेको सरकार भएकोले विकासको गतिलाई कसैले कुनै पनि बहानामा रोक्न नसक्ने बताए । राष्ट्रपतिले संसदका नीति तथा कार्यक्रम पेस गर्दा मेरो सरकार भन्नु कुनै पनि हालतमा बेठिक नभएको उनले उल्लेख गरे । ‘राष्ट्रपतिज्यूले संसदमा बोल्दा मेरो सरकार भनेर सम्बोधन गर्नु जायज हो, यसमा साथीहरुले होहल्ला गर्नु आवश्यक छैन, यो अन्तर्राष्ट्रिय प्रचलन हो, हाम्रो छिमेकी देश भारतमा पनि यस्तै प्रचलन छ ।’ उनले अगाडि थपे ‘म डोटीबाट निर्वाचित सांसद हुँ के मैले डोटी मेरो निर्वाचन क्षेत्र हो भन्न नमिल्ले ?
संसदमा बोल्दै सांसद आलेले नेपाली कांग्रसका केही साथीहरु यो कम्युनिष्ट सरकारलाई हामी कतिसम्म शासन गर्न दिने भन्दै कुर्लिएको देख्दा आफूलाई अचम्म लागेको बताए । नेपाली कांग्रेसले २०१५,२०४८ र २०५६ मा धेरैपल्ट बहुमतको सरकार बनाउँदा विकासका उल्लेखनीय कामहरु केही गर्न नसकेको उल्लेख गर्दै भने, ‘आफ्नो पार्टीको बहुमतको सरकार हुँदा एउटा माखोसमेत नमार्ने, अनि समृद्ध नेपाल बनाउन स्पष्ट मिसन र भिजन बोकेको सरकारले गरेको काममा भाँजो हाल्ने ? दाँतबाट पसिना निकाल्ने ? के नेपाली कांग्रेसले नेपालको विकास नचाहेको हो ? अब यस्ता दुष्प्रचार गरेर जनता झुक्किेनेवाला छैनन् यो कुरा कांग्रेसका माननीयहरुले बुझ्नु आवश्यक छ ।’
नीति तथा कार्यक्रममा उत्तर दक्षिण जोड्ने खुटिया– दिपायल–बझाङ–चैनपुर हुँदै चाइनाको मानसरोवरसम्म जोड्ने सडक उल्लेख नभए पनि बजेट बक्तब्यमा समेटिनेमा आफू विश्वस्त रहेको बताए । नेपाली कांग्रेसका सांसदहरुले सपना मात्रै देखाउने सरकार भनेर आलोचना गरेकोप्रति इंगित गर्दै आलेले सपना नदेखेसम्म विकास गर्नै नसकिने दावी गरे ।
आफूले निर्वाचनको समयमा डोटीका जनतासमक्ष यहाँको सडक कालोपत्रे गराउने वाचा गरेअनुरुप नै आफुले विशेष पहल गरेर गत फागुन ७ गते प्रधानमन्त्री केपी ओलीबाट २०० करोड लागतको बीपीनगर सडक कालोपत्रे योजनाको शिलान्यास गराएको उल्लेख गरे । उनले भने, ‘नेपालको सुदूरपश्चिम क्षेत्रको लाइफलाइन सडकको रुपमा रहेको यस वीपीनगर सडक कालोपत्रे सम्पन्न गरेर विकासमा ध्यान नदिने नेपाली कांग्रेस डोटीका नेताहरुलाई एमजीट खुवाएर बसमा सरर गोलगोल घुमाउने मेरो चाहना छ, तपाइहरु तयार भएर बस्नुभए हुन्छ म चाँडै गरेर देखाउँछु ।’