किराना पसलबाट चोरेको पैसा नक्कली परेपछि…
वीरगञ्ज – किराना पसलबाट चोरी गरेको आरोपमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। नक्कली नोटसहित पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका वडा नम्बर २ बस्ने १९ वर्षिय अभिषेक कुमार यादव रहेका छन्।
पक्राउ परेका यादवसहित तीन जनाले सोमबार राति साढे दुई बजेको समयमा सोही नगरपासिलकाको वडा नम्बर ४ स्थित हवारी चोकमा इशराइल मियाँले सञ्चालन गरेको किराना पसलमा चोरी गरेका थिए।
चोरी भएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लौकाहाबाट गएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको थियो । अन्य दुई जना भने फरार रहेका छन्। पक्राउ परेका यादवको साथबाट नेपाली नक्कली नोट एक हजार दरको दुई थान बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता एवम् डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।
बरामद भएको नक्कली नोटबारे प्रहरीले यादवसँग सोधपुछ गर्दा यादवले उक्त पसलबाट नोट चोरी गरेको बयान दिएका छन्। नक्कली नोट र चोरीको विषयमा थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका यादवलाई चोरी तथा खोटा चलन सम्बन्धी कसूर मुद्दा चलाइने र फरार दुई जनाको खोजी जारी रहेको सापकोटाको भनाई छ।