सिल्भरबाट कोरिया एप्लाई गर्दा झण्डै २ लाखका दरले ठगिन्छन् विद्यार्थी

शुक्रबार, २ कार्तिक २०८१

काठमाडौं – सिल्भर एजुकेशन फाउण्डेशनबाट दक्षिण कोरिया एप्लाई गर्ने विद्यार्थीहरु झण्डै दुई लाखका दरले ठगिने गरेको तथ्य फेला परेको छ । सिल्भरबाट कोरियाको किम्पो विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीहरु झण्डै दुई लाखका दरले ठगिने गरेको तथ्य फेला परेको हो ।

यो विश्वविद्यालयमा सिल्भरको सिधा सम्पर्क र सम्झौता नभएकाले कोरियाको विचौलिया संस्था कोसामार्फत सिल्भरले विद्यार्थी ठगिरहेको छ । सिल्भरले कोरियाको विचौलिया कम्पनी कोसालाई दिने भन्दै प्रतिविद्यार्थीबाट दुई लाख रुपैयाँ उठाउने गरेको छ । यसरी उठाएको रकम प्रतिविद्यार्थी १९ लाख कोरियन ओनका दरले हुण्डिमार्फत कोरिया पठाउने गरेको छ ।

यो रकम विद्यार्थीले विश्वविद्यालयलाई तिर्ने ट्युसन फि, भिसा एप्लिकेशन चार्ज, कन्सल्टेनसीले लिने सर्भिस चार्ज र डकुमेन्टेशन चार्जबाहेकको हो । सिल्भरले १ लाख ५० हजार सर्भिस चार्ज, ३० हजार डकुमेन्टेशन फि भनेर छुट्टै उठाउने गरेको छ भने कोसालाई तिर्ने २ लाख रुपैयाँ छुट्टै उठाउने गरेको छ । कोसाले ६ महिनाको छात्रवास, पिकअप, छात्रवास डिपोजिट, कोसा म्यानेजमेन्ट फि गरि जम्मा १९ लाख कोरियन ओन लिने गरेको छ ।

यो रकम विद्यार्थीको भिसा लागिसकेपछि पठाउनु पर्ने हुन्छ । सिल्भरले कोसाको रकम आफै पठाउन सक्ने वा आफूले पनि पठाइदिने भन्दै विकल्प दिने गरेको कोरिया पुगेका विद्यार्थीको भनाई छ । ‘विद्यार्थी आफैले पठाउन सक्ने वा आफूले पठाइदिने भनेर विकल्प त दिन्छ तर आफूमार्फत पठाउँदा हुने फाइदा देखाएर विद्यार्थीलाई पैसा बुझाउन बाध्य बनाउँछ ।’, किम्पो पुगेका एक विद्याथीले भने, ‘मैले आफै तिरेर आएका हुँ । बेकार पैसा तिरिएछ । सस्तोमा विश्वविद्यालयकै होस्टेल पाइने रहेछ । बाहिर बस्दा पनि धेरै सस्तो पर्ने रहेछ ।’

सिल्भर आफैले विद्यार्थी भर्ना गर्ने गरि कोरियाका कुनै पनि विश्वविद्यालयसँग सम्झौता गरेको छैन । सिल्भरले गर्ने बदमासीका कारण सम्झौता भएका विश्वविद्यालयले पनि सम्झौता नविकरण गरेका छैनन् । कहिले कसलाई विद्यार्थी दिने र कहिले कसलाई विद्यार्थी दिने हुँदा सिल्भरबाट एप्लाई गर्ने विद्यार्थीहरु मर्कामा पर्ने गरेका छन् । सिल्भरले  केआईईसीसी मार्फत कोरियाको Kangwon National University(KNU) मा विद्यार्थी भर्ना गर्दासमेत ४० हजार नेपाली रुपैयाँ लिने गरेको छ ।

सिल्भरले भने कोसासँग गरेको सम्झौता देखाउन चुनौति दिएको छ । सिल्भरका सीइओ सन्तोष खनालले कोसासँग सम्झौता नगरेको भन्दै सम्झौता देखाउन चुनौति दिएका छन् । साथै उनले किम्पो विश्वविद्यालयसँग सम्झौता भएको समेत दावि गरेका छन् । सम्झौता भए उपलब्ध गराउन सामाजिक संजाल ह्वाट्सएपमार्फत आग्रह गर्दा आफूसँग अबदेखि कुरा नगर्न भन्दै पन्छिए ।

किम्पो र कोसाको बारेमा कुराकानी भएको केही समयपछि सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरिएको KIMPO  मा भिसा लागेका विद्यार्थीको विवरणसमेत हटाइएको छ । फेसबुकबाट हटाएको भिसा लागेका विद्यार्थीको विवरण मोटिभेट न्यूजले भने सुरक्षित राखेको छ । सिल्भरलाई KNU को ४० हजार र KIMPO को २ लाख बुझाउने विद्यार्थीको नामसहितको समाचार अर्को अंकमा प्रकाशन गर्ने छौँ ।

यस्तो थियो विद्यार्थी ठग्न सिल्भरले गरेको सम्झौता