एमालेको पार्टी कार्यालय बनाउन नगरपालिकाले दियो २७ लाख
नवलपरासी – कावासोती नगरपालिकाले एमालेको जिल्ला पार्टी कार्यालय भवन बनाउन २७ लाख रुपैयाँ निकासा दिएको छ । कावासोती नगरपालिका वडा नम्बर ३ स्थित ४, ख कित्ता नम्बर १०४८ र १०४९ मा एक निजी बोर्डिङ स्कुलका सञ्चालकले दिएको १ कठ्ठा ६ धुर जग्गामा पार्टी भवन बनाउन नगरपालिकाले रकम निकासा दिएको हो ।
पार्टी कार्यालयको भवन निर्माणमा सरकारी पैसा निकासा हुनुलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले चरम आर्थिक अनियमितता र दुरुपयोग भनेको छ ।
गत असोज २० गते आइतबार कावासोतीमा सम्पन्न एमाले जिल्ला कमिटीको बैठकको निर्णय नम्बर ८ मा भवनकालागि कावासोती नगरपालिकावाट रकम निकासा भएको उल्लेख छ ।
बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य एवं एमाले नेता तिलक महतको उपस्थितीमा रहेको थियो । नगरपालिकाले भवन निर्माणका लागि ३० लाख रकम बिनियोजन गरिएकोमा बिल भर्पाई मिलाउँदा २७ लाख मात्र निकासा दिइएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।
भवन निर्माण सम्पन्न भइसकेपछि नगरपालिकाले रकम भुक्तानी दिएको हो । एमाले जिल्ला सचिव भीम कँडेलले मदन भण्डारी स्मृति संस्थाका नाममा २७ लाख रकम निकासा गरेर पार्टी कार्यालयको भवनमा लगानी गरेको जानकारी दिए । सोझै पार्टी कार्यालयलाई दिन नमिल्ने भएकाले त्यसरी रकम निकासा गरिएको उनले सुनाए ।
पूर्वी नवलपरासीको सदरमुकाम रहेको कावासोती नगरपालिकामा मेयर, उपमेयरसहित स्पष्ट बहुमत एमालेको रहेको छ । यहाँ अघिल्लो पटक पनि एमालेले स्पष्ट बहुमत ल्याएको थियो ।