आन्दोलनबाट ब्याक भयो रास्वपा

सोमबार, ५ कार्तिक २०८१

काठमाडौं – पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि आन्दोलनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन स्थगित गर्ने भएको छ । पार्टीको हाइकमाण्डले आन्दोलन शान्तिपूर्ण भनिएपनि उच्छृंखल गतिविधि गर्न थालेपछि बुधबारदेखि आन्दोलन स्थगित गर्न लागिएको हो ।

सभापतिको लागि पार्टीलाई नै सति लाने कुरा शोभनीय नहुने र कानूनी राजको उपहास हुने भएको निश्कर्षसहित उपसभापति डा। स्वर्णिम वाग्लेले आफ्नो कोर टिमसँग आन्दोलनबाट ब्याक हुने विषयमा छलफल चलाएका थिए । उनको टिममा आन्दोलनबाट ब्याक हुने मोटामोटी समझदारी बनेपछि लामिछानेका प्रिय पात्र अर्का उपसभापति डिपी अर्यालसँगपनि वाग्लेको छलफल भएको थियो । लगत्तै वाग्ले र अर्यालले सभापति लामिछानेसँग हिरासतमै भेट गरी भावी योजनाबारे संक्षिप्त छलफल गरेको बताईएको छ ।

सो छलफलमा बुधबारबाट आन्दोलनबाट ब्याक हुने विषयमा तीनै जना नेताबीच समझदारी बनेको बताईन्छ । आन्दोलन जारी राख्दा विस्तारै जनसमर्थनपनि गुमाउने र वैकल्पिक राजनीतिको नारा दिने दलले कानूनी शासनलाई आत्मसात नगरेको सन्देश प्रवाह हुँदा पार्टीलाई गम्भीर क्षति पुग्ने नेताहरुको निश्कर्ष छ । उनीहरु बुधबारबाट आन्दोलनबाट ब्याक भएर काठमाडौंकेन्द्रित आन्दोलनको तयारीमा जुट्ने बुझिएको छ । त्यसको लागि रास्वपाको नेतृत्व पँक्तिले सिके राउतदेखि काठमाडौंका मेयर बालेन शाहसम्मलाई सन्देश पठाएर नैतिक समर्थन लिन खोजेको छ ।

लामिछानेले पनि बालेनको साथ र समर्थन खोजेको बुझिएको छ । तर, अहिलेसम्म मेयर बालेन लामिछाने पक्राउ प्रकरणबारे मौन छन् । बालेन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सम्बन्धमा चिसोपना छ । यस्तोमा बालेनले आफूहरुलाई साथ दिने रवि समर्थकहरुको बुझाई थियो ।

तर, आज सभापति लामिछाने पक्राउ परेको चार दिन बितिसक्दापनि बालेनले कुनै प्रतिक्रिया नदिएपछि भने रास्वपाका समर्थकहरु निराश छन् । उनीहरु पोखराको आन्दोलन तुहिने डरले अब काठमाडौंमा निलो क्रान्तिको नाममा आन्दोलन गर्नतर्फ उद्धत बनेको बुझिएको छ ।