भैरहवाबाट एकैदिन तीन अन्तर्राष्ट्रिय उडान
काठमाडौँ – नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन विमानले उडान भरिरहेका छन् ।
जजिरा एयरलाइन्सले यहाँबाट स्थगित गरेको उडान शनिबारदेखि फेरि सुरु गरेको छ । जजिराले यो विमानस्थल सञ्चालनमा आएदेखि नै उडान गरेको थियो । बीचमा उडान स्थगित गरेको थियो । शनिबार जजिरा १७१ यात्रु लिएर भैरहवा आएको थियो । यहाँबाट एक बालकसहित १६८ यात्रु लिएर उडेको छ ।फ्लाई दुबई र नेपाल एयरलाइन्सले पनि यहाँबाट आजैदेखि उडान सुरु गर्दै छन् । योसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको संख्या चार पुगेको छ ।
जजिराले सातामा तीन दिन उडान गर्दै छ । मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुवेतका निम्ति उड्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।यस्तै, फ्लाई दुबईले दैनिक उडान गर्ने र दिउँसो पौने २ बजे भैरहवा आउने तथा यसको एक घण्टापछि दुबई फिर्ता जाने उनले बताए ।
नेपाल एयरलाइन्सले सातामा तीनपटक काठमाडौं–भैरहवा–दुबई उडान गर्नेछ । तिवारीका अनुसार, आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौंबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ । तिवारीका अनुसार, कतार एयरवेज, एयर अरेबियालगायत अरू अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको छ ।