रुसमाथि युक्रेनको ‘घातक’ ड्रोन हमला

सोमबार, २६ कार्तिक २०८१

काठमाडौं – युक्रेनले रुसमाथि घातक ड्रोन हमला गरेको छ । युक्रेनले रुसका ६ स्थानमा प्रहार गरेका ड्रोन रोकेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

तीमध्ये केही राजधानी मस्कोतर्फ प्रहार गरिएको थियो । त्यसका कारण मस्कोका प्रमुख तीन विमानस्थलमा उडान अवतरण प्रभावित भएको थियो । हवाईजहाजहरुलाई डाइभर्ट गर्नु परेको थियो ।

अधिकारीहरुका अनुसार धेरैजसो ड्रोन रामेनस्कोय, कोलोम्ना र डोमोडेडोभोमा खसेका थिए । रुसी रक्षा मन्त्रालयका अनुसार मस्कोको दक्षिण पश्चिम क्षेत्र रोमेनस्कोयमा खसेको ड्रोनका कारण पाँच जना घाइते भएका छन् भने चार वटा घरमा आगो लागेको छ ।

मन्त्रालयका अनुसार शहरमाथिको आकासमा आइपुगेका ३४ वटा ड्रोनलाई खसालिएको थियो । यसैगरी रुसले युक्रेनतर्फ १४५ ड्रोन प्रहार गरेको थियो । तीमध्ये धेरैजसोलाई निष्कृय पारेको युक्रेनले दाबी गरेको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न एकअर्कालाई दबाब दिनसक्ने अनुमान भइरहेका बेला आइतबार रुस र युक्रेनले एकअर्काको भूमिमा ड्रोन हमला गरेका थिए । आइतबार मस्कोमा युक्रेनले गरेको हमला हालसम्मकै घातक भएको बीबीसीले जनाएको छ । मस्कोका गभर्नरले पनि यी हमलालाई ‘निकै ठूलो’ भनेका छन् ।